चार घण्टा हिँडेर तरकारी बेच्छन् महिला, बिचौलिया खान्छन् फाइदा

  पुष ०३, २०७८

बैतडी, पुस २ : बैतडीको गुरुखोलास्थित मुडाप गाउँका महिलाले सामूहिक रुपमा उत्पादन गरेको तरकारी चार घण्टा पैदल हिँडेर विक्री गर्नुपर्ने बाध्यता छ । तरकारीको बजार मूल्य निर्धारण नहुँदा बिचौलियाका कारण महिला किसानले मेहनत अनुसारको मूल्यसमेत नपाएको गुनासो गरेका छन् ।

दशरथचन्द नगरपालिका–१ गुरुखोलाको मुडाप गाउँबाट पैदल हिँडेर दशरथचन्द नगरपालिका–४, स्थित बैतडी सदरमुकाम पुग्दा नाम्लोले टाउकोमा डाम परेको देखाउँदै अगुवा कृषक मानमति भाट भन्नुहुन्छ– “गाउँमा डोजरले सडक खन्दा निकै खुशी भएका थियौं । सडकको नाम पनि ग्रामिण कृषि सडक थियो । अहिले ग्रामिण सडकमै डोको बोकेर हिँड्नु परेको छ । गाउँमा न तरकारी सङ्कलन केन्द्र छ, नत तरकारीको मूल्य नै निर्धारण भएको छ ।”

दश नङ्ग्रा खियाएर फलाएको तरकारी चार घण्टा डोकोमा बोकेर पैदल हिँड्दा टाउकोमा बसेको नाम्लोको डाम देखाउँदै भाटले भन्नुभयो, “हामीले दुःख गरे अनुसारको मूल्य पाउन सकेका छैनौं । नत, उपभोक्ताले सुपथ मूल्यमा तरकारी खान पाउँछन् । बिचौलियाले हामीबाट सस्तोमा किनेर महङ्गोमा बेच्दै आइरहेका छन् ।” चिसो मौसममा विहानै डोकाको भारी बोकेर तुसारोमा हिँड्दा महिला किसानका खुट्टाका पाइताला समेत फुट्ने गरेको महिला किसानको गुनासो छ ।

तरकारीको डोको बोकोसहित बैतडी सदरमुकाममा भेटिनुभएका अर्का महिला किसान पार्वती भाटको पनि उस्तै गुनासो छ । “तरकारी कति रुपियाँ किलो बेच्ने भन्ने कुरा पनि हाम्रो हातमा छैन” पार्वतीले भन्नुभयो, “बिचौलियाले जति दियो त्यति नै मूल्य लिएर घर फर्किनुपर्छ । मलखाद, वीऊ विजन नपाए पनि गाउँमा तरकारी सङ्कलन केन्द्र भइदिएको भए कति राम्रो हुन्थ्यो ?”

गाउँमा सडक पुगेपछि किसान खुशी हुनुपर्नेमा बैतडीका किसान झन् दुःखी बनेका अगुवा महिला किसान धाना भाटले बताउनुभयो । बारीमा हरियो पालुङ्गो, रायो, धनियाँ र आलु फलेको छ तर, फलेको तरकारी बजार पुर्याउन जाँदा पुरै दिन बित्ने गरेको भाटले बताउनुभयो । तरकारी ढुवानी गर्ने साधनको व्यवस्था नहुँदा किसान मर्कामा परेको उहाँले बताउनुभयो । बैतडी सदरमुकामका तरकारी पसलमा हरियो पालुङ्गो प्रतिकिलो ८० रुपियाँका दरले उपभोक्ताले किन्दै आइरहेका छन् । बिचौलियाले भने महिला किसानबाट आधा मूल्यमा किन्ने गरेको किसानको गुनासो छ ।

बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोला तरकारी पकेट क्षेत्र घोषणा भए पनि किसानले फलाएको तरकारी संकलन गर्न न संकलन केन्द्र छ, न त ढुवानी गर्ने कुनै व्यवस्था । बारीमा फलेको तरकारी चार घण्टा हिँडेर बजार पुर्याउँदा समस्या हुने गरेको गुरुखोलाका महिला कृषकको गुनासो छ । तरकारी सङ्कलन केन्द्र र ढुवानी गर्ने साधनको माग जायज भए पनि नगरपालिकासित पर्याप्त श्रोत नभएको दशरथ चन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया