कांग्रेस पदाधिकारीमा देउवाको बहुमत : देउवा र खड्काबाहेक सबै नयाँ अनुहार

  पुष ०२, २०७८

काठमाडौँ, पुस २ : कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा ५८ प्रतिशत मतसहित जिते । आफ्नो पहिलो कार्यकालमा पार्टी र राष्ट्रिय राजनीतिमा प्रभावशाली काम गर्न नसकेका देउवा साढे पाँच वर्षपछि फेरि देशभरिका नेता कार्यकर्तामाझबाट अनुमोदित भएका हुन् ।

यसआधारमा यो महाधिवेशनले कांग्रेसको मूल नेतृत्व परिवर्तन सकेन । तर, देउवाबाहेक केन्द्रीय कार्यसमितिका पदाधिकारीमा अधिकांश नयाँ अनुहार आएका छन्, जो पुस्तान्तरण र नेतृत्व परिवर्तनको एजेन्डासहित महाधिवेशनको प्रतिस्पर्धामा होमिएका थिए । कांग्रेसले यसपटक सभापतिसहित १३ जना पदाधिकारीको निर्वाचन गरेको थियो, जसमा यसअघि पदाधिकारी रहेका दुई जना मात्रै अटाएका छन्, त्यसबाहेक ११ जना पदाधिकारी नयाँ अनुहार निर्वाचित भएका छन् । अब चार वर्षे कार्यकालका लागि म्याण्डेट पाएको देउवा टिममा आशालाग्दा नयाँ अनुहार आएका छन् ।

विगतमा आठ जना पदाधिकारी भए पनि सभापति, एक महामन्त्री र कोषाध्यक्षमात्रै निर्वाचित हुने व्यवस्था थियो, बाँकी पदमा सभापतिले आफूलाई सहज हुने गरी मनोनित गर्थे । यसपटक भने कोषाध्यक्षबाहेक सबै पदाधिकारी चयन निर्वाचनबाटै भएको छ । गत सोमबार भएको निर्वाचनबाट सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ जना निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापतिसहित १३ जना पदाधिकारीको मतगणना सकिएको जानकारी दिए । समितिका अनुसार सभापतिमा देउवा निर्वाचित भए पनि पदाधिकारीमा भने मिश्रित परिणाम आएको छ । महाधिवेशन प्रतिनिधिले निर्वाचित गरेर पार्टीभित्रका लोकप्रिय र नयाँ पुस्ताका नेताहरूलाई केन्द्रीय पदाधिकारीमा पुर्‍याएका छन् ।

देउवाले पहिलो चरणमै ४८ प्रतिशत मत पाएका थिए । त्यसआधारमा उनको प्यानल नै निर्वाचित हुनसक्ने अनुमानसमेत भइरहेको थियो । तर, उनका उपसभापति, महामन्त्री र सहमहामन्त्रीका कतिपय उम्मेदवार पराजित भइसकेका छन् । देउवाले २ हजार ७३३ मत पाएर ८७८ मतान्तरसहित सभापति जितेका हुन् । अर्का उम्मेदवार शेखरप्रसाद कोइरालाले १८५५ मत पाएका थिए । पहिलो चरणमाभन्दा कोइरालाले १५३ मत बढाएका थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२ मत पाएका थिए । त्यस्तै, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए । तर, दोस्रो चरणमा सिंह, निधि र गुरुङले देउवालाई सघाएका थिए ।

१३ केन्द्रीय पदाधिकारीमा सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व भएको छ । तर, महिला भने एक जना मात्रै छन् । देउवा समूहबाट देउवासहित ८ जना निर्वाचित भएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का तथा सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठोर, महेन्द्र यादव, फर्मुल्लाह मन्सुर र उमाकान्त चौधरी देउवा समूहबाट निर्वाचित भएका हुन् । सहमहामन्त्री चौधरी देउवा–कृष्णप्रसाद सिटौला समीकरण बन्दा सिटौलाको सिफारिसमा उम्मेदवार भएका हुन् ।

त्यस्तै, सभापतिमा शेखर कोइराला पराजित भए पनि उनको समुहका नेताहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्री भने जितेका छन् । उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्री जीवन परियार,बद्री पाण्डे कोइराला समूहबाट निर्वाचित भएका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा भने प्रकाशमान सिंह समूहबाट विजयी बनेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

उपसभापतिमा खड्का र गुरुङ

कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । देउवा समूहबाट निर्वाचित भएका खड्का यसअघि महामन्त्री थिए भने कोइराला समूहबाट निर्वाचित भएका गुरुङ यसअघि केन्द्रीय सदस्य मात्रै थिए । खड्काले सर्वाधिक २१२१ मत ल्याए भने गुरुङले देउवा समूहका विजयकुमार गच्छदारलाई २ मतले पराजित गरेका थिए । गुरुङले १९०८ मत ल्याए भने गच्छदारले १९०६ मत ल्याएका थिए । त्यस्तै, कोइराला प्यानलका चन्द्र भण्डारीले १५८०, सिंह समूहकी सुजाता कोइरालाले ६४४, विमलेन्द्र निधि समुहकी दिव्येश्वरी शाहले १३२ र स्वतन्त्र उम्मेदवार महेश आचार्यले ५८९ मत पाएका थिए । नेविसंघका पूर्वअध्यक्ष गुरुङ पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका नेता हुन् । सुर्खेतका नेता खड्का खुमबहादुर खड्का समूहबाट केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री भए, अब देउवाका विश्वासपात्र बनेका छन् ।

महामन्त्रीमा थापा र शर्मा

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिबाट आएका थापा र शर्माले लोकप्रिय मतसहित महामन्त्री जितेका हुन् । कोइराला समूहबाट थापाले ३ हजार २३ मत पाए भने सिंह समूहबाट उम्मेदवार शर्माले १९८४ मत पाए । थापाले शर्माभन्दा १०८४ बढी मत पाए । सभापति देउवाले ४८ प्रतिशत मतसहित जिते पनि उनका महामन्त्री उम्मेदवार प्रकाशशरण महतले ३३ प्रतिशत र प्रदीप पौडेलले ३० प्रतिशतमात्रै मत पाएका छन् ।

महतले १५५० र पौडेलले १४०९ मत पाएका थिए । कोइराला समूहका अर्का उम्मेदवार मिनेन्द्र रिजालले ८०९ र निधि समूहका राजाराम कार्कीले १०६ मत पाएका थिए । देउवा समूहबाट महामन्त्री नपाएपछि सिंहको साथमा पुगेका शर्माले मुल गुटका घेरा तोडेर महामन्त्री जितेका हुन् ।

विद्यार्थी राजनीतिमा शर्माले थापालाई अघि बढाएका थिए । थापा त्रिचन्द्र कलेजमा स्ववियु सदस्य लड्दै गर्दा शर्मा नेविसंघको केन्द्रीय समितिमा आइसकेका थिए । शर्मा ०५७ मा नेविसंघको सभापति हुँदा उनले थापालाई उपसभापति मनोनित गरे । पछि ०५९ मा नेविसंघको सभापति गुरुराज घिमिरे भए भने थापा महामन्त्री निर्वाचित भए ।

विद्यार्थी राजनीतिमा शर्माले थापालाई अघि बढाए, तर पार्टी राजनीतिमा भने थापाको लामो अनुभव छ । झापाका शर्मा १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएर प्रवक्ता भए । थापा १२ औंमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य, १३ औंमा महामन्त्रीमा प्रतिस्पर्धा, र अहिले दोस्रो प्रयासमा महामन्त्री निर्वाचित भए । शर्माले संसदीय राजनीतिको अभ्यास गर्न पाएका छैनन् । थापाले अहिले तेस्रोपटक सांसद छन् । उनी पूर्वस्वास्थ्यमन्त्री समेत हुन् । महामन्त्रीका रुपमा थापा र शर्माको सहकार्य कस्तो रहला ? त्यो सबैको चासोको विषय बनेको छ ।

सहमहामन्त्रीमा देउवा समूहका छ, कोइराला समूहका दुई

कांग्रेसको संशोधित विधानअनुसार पहिलोपटक पदाधिकारीमा समावेशी समूहको प्रतिनिधित्व भएको छ । महिला, दलित, मधेशी, मुस्लिम, थारु, खस आर्य, आदिवासी जनजाति, र पिछडिएको क्षेत्र गरी आठवटा समावेशी समूहबाट एक–एक जना सहमहामन्त्री निर्वाचित भएका छन् । त्यसमध्ये छजना देउवा समूहका छन् भने दुईजना कोइराला समूहका नेता छन् ।

मधेशी सहमहामन्त्रीमा यादव

मधेशी सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादव निर्वाचित भएका छन् । उनले २ हजार २६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवले १ हजार ८२० मत पाए भने अर्का उम्मेदवार रञ्जित कर्णले ४ सय ७२ मत प्राप्त गरे । रामकृष्ण कोइराला समूहका उम्मेदवार हुन् भने कर्ण नेता प्रकाशमान सिंहनिकट उम्मेदवार हुन् । सहमहामन्त्रीमा निर्वाचित यादव यसअघि केन्द्रीय सदस्य थिए ।

दलित सहमहामन्त्रीमा परियार

दलित सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार निर्वाचित भएका छन् । उनले जम्मा ३७ मतले देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । परियारले २ हजार २१२ मत पाए भने विश्वकर्माले २ हजार १७५ मत पाए । सिंह समूहकी गंगा सुनारले २३२ मत पाइन् । नेविसंघ र दलित संघको नेतृत्व गर्दै दुई पटक केन्द्रीय सदस्य भएका सहमहामन्त्री परियार वैचारिक नेता मानिन्छन् । उनी संविधानसभा सदस्य समेत हुन् ।

आदिवासी जनजाति सहमहामन्त्रीमा आङदेम्बे

आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । उनले अर्का प्रत्यासी विकास लामालाई ७९८ मतान्तरले पराजित गरे । उनले २ हजार ७११ मत ल्याउँदा लामाले १ हजार ९ सय १२ मत प्राप्त गरेका हुन् । ०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट निर्वाचित आङ्देम्बेले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । उनी कांग्रेसको अनुशासन आयोगका संयोजक समेत थिए । राजनीतिक घरानाका नेता आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भएका थिए ।

महिला सहमहामन्त्रीमा उपाध्याय

महिला सहमहामन्त्रीमा देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी छन् । उनले कोइराला समूहकी कमला पन्तलाई ४२८ मतान्तरले पराजित गरेकी हुन् । उपाध्यायले २ हजार ५३३ मत पाइन् भने पन्तले २ हजार १०५ मत पाइन् । उपाध्याय यसअघि केन्द्रीय कार्यसमिति सदस्य थिइन् ।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा पाण्डे

पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै सहमहामन्त्रीमा कोइराला समूहका बद्री पाण्डे निर्वाचित भएका छन् । उनले २ हजार ४११ मत पाए भने देउवा समूहका उम्मेदवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले २ हजार १३३ मत पाएका छन् । अर्का चेतराज बजालले ९९ मत पाए । नेविसंघको राजनीतिबाट उदाएका पाण्डे १२ औँ र १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थिए । उनी राष्ट्रियसभाका पूर्व सदस्यसमेत हुन् । पार्टीभित्र प्रशिक्षणको सन्दर्भमा देशभर डुलेका पाण्डे युवामाझ लोकप्रिय छन् ।

खसआर्य सहमहामन्त्रीमा राठौर

खसआर्य सहमहामन्त्रीमा देउवा समूहका किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनले कोइराला समूहका देवराज चालिसेलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् । राठौरले २ हजार ५७६ मत पाए भने चालिसेले २ हजार ५९ मत ल्याएका छन् । राठौर यसअघि केन्द्रीय कार्यसमिति सदस्य थिए ।

मुस्लिम सहमहामन्त्रीमा मन्सुर

मुस्लिम सहमहामन्त्रीमा देउवा समूहका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । उनले कोइराला समूहका शेख वकीललाई पराजित गरेका हुन् । मन्सुरले २ हजार ७७६ मत पाए भने वकीलले १ हजार ८७१ मत पाए । मन्सुर यसअघि केन्द्रीय सदस्य थिए ।

थारु सहमहामन्त्रीमा चौधरी

थारु सहमहामन्त्रीमा खानेपानी मन्त्री उमाकान्त चौधरी निर्वाचित भएका छन् । सिटौलानिकट उनी देउवा समूहबाट निर्वाचित भएका हुन् । उनले २ हजार ७६२ मत पाए भने कोइराला समूहका तेजुलाल चौधरीले १ हजार ८७७ मत पाए ।

चौधरी सिटौलाको कोटाबाट वर्तमान सरकारका खानेपानी मन्त्री भएका हुन् । १३ औँ महाधिवेशनमा सिटौला समूहबाट कोषाध्यक्ष जितेका उनी अहिले थारुतर्फ सहमहामन्त्री बनेका छन् । अहिलेको केन्द्रीय पदाधिकारीमा सिटौलाको प्रतिनिधित्व गर्ने उनी एक्ला नेता हुन् ।

काम गर्न सहज छैन देउवालाई
सिटौलासँग १३औं महाधिवेशनबाट देउवाले राजनीतिक निर्णयहरुमा सम्झौता गर्दै आएका देउवालाई पार्टीभित्र संस्थागत भएको समूहहरुसँग समन्वय गर्दै कांग्रेसको नेतृत्व गर्नु सजिलो देखिन्न । आफ्नै नेतृत्वमा कांग्रेसलाई पहिलो शक्ति बनाउने देउवाको आगामी यात्रा ४० प्रतिशत बढी मत पाएका डा.शेखर समूहसँगको सहकार्यले पनि निर्धारण हुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ नपाउँदा पनि डा. शेखरले दोस्रो चरणमा १,८५५ मत पाएका थिए भने देउवाले २,७३३ मत ल्याउँदै जितेका हुन् । रामचन्द्र र शशांकको व्यवस्थापन पनि देउवाका निम्ति सजिलो छैन ।

तपाईको प्रतिक्रिया