बाल विवाह अन्त्य गर्ने नगरपालिकाको १० वर्षे रणनीति

  पुष ०२, २०७८

कपिलवस्तु, पुस २ : समुदायमा बाल विवाह हुनेक्रम नरोकिएपछि कपिलवस्तुको शिवराज नगरपालिकाले १० वर्षे रणनीति निर्माण गर्न सुरु गरेको छ । नगरपालिकाले बाल विवाह न्यूनीकरणको योजना तयार गर्न सरोकारवालासँग छलफल गरेको छ ।

नगरपालिकाका केही वडा बाल विवाहमुक्त घोषणा भएपनि सबै वडा बाल विवाह मुक्त गराउन अभियानस्वरुप रणनीति तयार गर्न लागेको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । नगरपालिकाले पछिल्लो तीन वर्षभित्र १ हजार ६ सय ७ जनाको बालविवाह तथ्याङ्क प्रस्तुत गरेको थियो ।

तीमध्ये १ हजार १ सय १७ बालक र ४ सय ९० बालिका रहेको छन् । पालिकालाई बाल विवाहमुक्त गराउन विगत ५ वर्ष अगाडिदेखि विभिन्न संघ संस्थाले अभियान सञ्चालन गर्दैआएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रबन्धक प्रकाश घिमिरेले रणनीतिको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । बालबालिकाको सवालमा काम गर्दैआएको केन्द्रले नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताएको छ ।

नगरपालिकाको वडा १ मा सबैभन्दा बढी बाल विवाह हुने क्षेत्र मानिएको छ । सो वडामा ३ वर्षमा २२४ जनाले बालविवाह गरेका थिए । वडा ७ मा सबैभन्दा न्यून ३४ जनाले बालविवाह गरेका थिए । वडामा बालविवाहका घटनाहरू बढेसँगै किशोर किशोरीहरुद्वारा अभियान सञ्चालन गरिएको वडा न १ का अध्यक्ष जगत जिसीले बताउनुभयो । कतिपय बालविवाह भागी विवाहले बढेको उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया