गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान : काम थाल्ने भनेकाे एरो थाइ सम्पर्कमा आएन, उडान ढिलो हुने

  पुष ०२, २०७८

काठमाडौं, पुस २ : नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले नागरिक उडड्यन प्राधिकरणलाई मङ्सिर ६ गते सम्पर्कमा आएर आवश्यक प्रक्रियाका काम शुरु गर्ने जनाए पनि हालसम्म सम्पर्क नभएका उडान मिति पर सर्ने भएको हो ।

एरो थाई कम्पनीले क्यालिब्रेसन उडानका लागि काम शुरु गर्न आउने मितिको जानकारी दिए पनि सम्पर्कमा नआएको र थप जानकारी नभएका कारण ढिलाई हुने भएको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उडानका लागि आवशयक अन्य विद्युतीकरण तथा उपकरण जडानको काम धमाधम भई रहेकाले उडान गर्न अझै केही महिना लाग्ने उहाँले बताउनुभयो ।

नवनिर्मित विमानस्थलमा जडित उपकरणहरुको सही प्रयोग भयो भएन अथवा सही जडान भयो भएन भनी जाँच गर्न र विमान अवतरणलाई सहज बनाउन यो उडान गर्ने गरिन्छ । त्यसपछि मात्र परीक्षण उडान गरेर नियमित उडान गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

करिब ३१ अर्ब लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भई सकेको छ भने विमास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहित आर्थिक वर्ष २०७२/०७३ मा शुरु भएको थियो ।

यो विमानस्थल सञ्चालनसँगै अन्तर्राष्ट्रिय उडान भर्न जहाज कम्पनीहरुलाई सहज हुने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया