आईसीपीमा भित्रिने मालवाहक सवारीसाधन बढे

  मंसिर २८, २०७८

वीरगञ्ज, मङ्सिर २८ : वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी) भन्सारको बाटो भएर चालू आर्थिक वर्षमा एक लाख १२ हजार २४१ सवारी साधन भित्रिएका छन् । यस वर्षको साउन १ देखि मङ्सिर २४ गतेसम्ममा विभिन्न सामग्री लोड भएका र नयाँ सवारी साधन गरी एक लाख १२ हजार २४१ सवारीसाधन भित्रिएको नेपाल इन्टरमोडल यातायात विकास समिति आईसीपी कार्यालयका प्रमुख कमल ज्ञवालीले जानकारी दिनुभयो । सोही अवधिमा आईसीपी भन्सारको बाटो भएर १३ हजार ४३२ सवारीसाधन बाहिरिएका छन् ।

आव २०७७÷७८ को सोही अवधिमा आईसीपी भन्सारको बाटो भएर ७४ हजार ८५३ वटा सवारीसाधन भित्रिएका थिए भने छ हजार ७४३ सवारीसाधन बाहिरिएका थिए । कोभिड–१९ का कारण आयात निर्यात प्रभावित हुदाँ भित्रिने बाहिरिने सवारीसाधनको सङ्ख्या कम भएको आईसीपी कार्यालयका प्रमुख ज्ञवालीले बताउनुभयो । चालू आर्थिक वर्षको सो अवधिमा आईसीपी भन्सारको बाटो भएर एलपी ग्यास बोकेका छ हजार ५९ ग्यास बुलेट, पेट्रोल बोकेका आठ हजार ३० ट्याङ्कर र डिजल बोकेका ३६ ट्याङ्कर नेपाल भित्रिएका छन् ।

त्यसैगरी ११ हजार १३८ वटा नयाँ गाडीका चेसिस भित्रिएको नेपाल आईसिपी सूचना अधिकृत हरिराज पौडेलले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा पाँच हजार २९१ एलपी ग्यास बोकेका ग्यास बुलेट भित्रिएको उहाँले बताउनुभयो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपी भन्सार भएर नेपाल भित्रिने सवारीसाधान र नेपालबाट बाहिरिने सवारीसाधनको व्यवस्थापन गर्ने गरेको छ । समितिले प्रवेश शुल्क, पार्किङ शुल्क, गोदाम भाडा, तौल काँटा शुल्क असुली गर्ने गरेको नेपाल आईसीपी कार्यालयका शाखा अधिकृत तर्कराज जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया