काँग्रेस महाधिवेशन उद्घाटन

  मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने भनिएको भए पनि केही ढिलाे भएको छ ।

मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।

सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन् ।

महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया