खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका

  मंसिर १७, २०७८

रोल्पा, मङ्सिर १७ : आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहँुदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।

गत असोजमा भएको आगलागीबाट विद्यालय भवन नष्ट भएसँगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ कक्षाकोठा जलेर पूर्णरुपमा नष्ट भएका थिए । आगलागीबाट फर्निचर तथा विद्यालयको अन्य सामान पनि जलेर नष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले जानकारी दिनुभयो ।

“भवन जलेको लामो समय बित्दासमेत पुनःनिर्माणका लागि कसैको ध्यान जान सकेको छैन, बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन्”, उहाँले भन्नुभयो । विद्यालय भवन तत्काल पुनःनिर्माणका लागि रोल्पा नगरपालिकासँग आग्रह गरे पनि सुनुवाइ नभएको महराको भनाइ छ ।

बालबालिका कठ्याङ्ग्रिदो जाडोमा खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक थामबहादुर कँुवर बताउनुहुन्छ । “जाडो विस्तारै बढ्दै छ, पुस– माघमा खुला आकाशमुनि पढाउनुपर्ने अवस्था आउँदैछ”, उहाँले भन्नुभयो । सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिनुपर्ने कुँवरको माग छ । आगलागीपछि पढ्न गाह्रो भएको कक्षा ५ की छात्रा अनिता विकले बताउनुभयो ।

सबै विद्यार्थीलाई पठनपाठन गराउन समस्या भएको प्रधानाध्यापक कँुवर बताउनुहुन्छ । “एउटै भवनमा मात्र विद्यार्थी नअटाउँदै समस्या भएको छ”, उहाँले भन्नुभयो । छिमेकी विद्यालय बालकल्याण नमूना माविले सो विद्यालयलाई फर्निचर सहयोग गरेको छ ।

विद्यालयले १० थान डेस्क बेञ्च सहयोग गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्वाचन क्षेत्रभित्र पर्ने उक्त विद्यालय रहेको गाउँ पूर्वसभामुख कृष्णबहादुर महराको जन्मस्थल पनि हो ।

तपाईको प्रतिक्रिया