बढ्यो स्याउ उत्पादन

  मंसिर १७, २०७८

बेनी, मङ्सिर १७ : मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । गत वर्ष पाँच हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको हो । यो करिब ९ प्रतिशतको वृद्धि हो ।

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार यो वर्ष कुल एक हजार ४४० हेक्टरमा स्याउका बोट लगाइएको छ । त्यसमध्ये मुस्ताङमा ५२० हेक्टरमा करिब एक लाख ५० हजार बोटमा स्याउ फलेका छन् ।

मुस्ताङमा उत्पादित स्याउको कुल उत्पादनमध्ये करिब ९० प्रतिशत स्याउ जिल्लाबाहिर निर्यात हुन्छ । स्याउको बिक्री वितरणबाट करिब ५० देखि ५५ करोड रुपियाँ मुस्ताङ भित्रिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँको स्याउ रसिलो र स्वादिलो मानिन्छ ।

यस वर्ष मुस्ताङको थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउँपालिकामा दुुई हजार ५६८, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक हजार ९३६, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १२० र लोमान्थाङ गाउँपालिकामा ३२ मेट्रिक टन स्याउ उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख बस्ताकोटीले बताउनुभयो ।

जिल्लाका सबै गाउँपालिकामा स्याउ उत्पादन हुने भए पनि पछिल्लो समय बाह्रगुङ मुक्तिक्षेत्रको छुसाङ, ताङ्वे, तिरी फल्याक, मुक्तिनाथ क्षेत्रमा स्याउको बोट लगाउने कार्य तीव्र गतिमा बढेको ज्ञान केन्द्र प्रमुख बस्ताकोटीले बताउनुभयो ।

यस क्षेत्रमा रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस, गोल्डेन डेलिसियस जातका स्याउ उत्पादन हुँदै आएको छ । पछिल्लो समय किसानले छिटोछरितो फल दिने इटालियन जात (उच्च घनत्व)को स्याउ बिरुवासमेत लगाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया