‘हाम्रो पहिलो पाइला-२’ प्रर्दशनमा

  मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : नेपाल कला परिषद्मा ‘हाम्रो पहिलो पाइला-२’ प्रर्दशन भइरहेको छ । ललितकला क्याम्पसबाट स्नातकपछि व्यवसायिक कला जीवन थाल्ने तयारीमा रहेका २२ जना युवा कलाकारहरुले सामुहिक रुपमा प्रदर्शन गर्नुभएको हो ।

ललितकला क्याम्पसका सिकाई, जीवनका भोगाई र युवा पुस्ताको कलाप्रतिको अनुभूति चित्रकलामा देख्न सकिन्छ । वयल, एक्रेलिक र मिश्रित माध्यममा बनाइएका चित्रकलाले कलामा प्रयोग नयाँ प्रयासहरु पनि देख्न सकिन्छ । प्रदर्शनीमा मिथिला चित्रकलाको प्रभावमा बनाइएका सामाजिक विषयवस्तुदेखि सम्पदा, संस्कृतिलाई देख्न सकिन्छ ।

कलाकार मनिषा शाहले भन्नुभयो, ‘मिथिला संस्कृति र महिला एकआपसमा अन्तरसम्बन्धित छन् । तिनै विषयलाई मिथिला चित्रकलाको शैलीमार्फत् प्रस्तुत गरेकी छु ।’ कलाकार उमा घिमिरेले कोभिडका कारण स्नातकको पढाईसमेत प्रभावित भएकाले यो अलि खुला परिवेशमा कलेजका साथीहरु मिलेर प्रदर्शनी गरेको बताउनुभयो । यसअघि स्नातक अध्ययन गर्दैगर्दा सोही विद्यार्थी समुहले ‘हाम्रो पहिलो पाइला’ प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा अमृत पौडेल, जीतबुद्धु मगर, मनिष श्रेष्ठ, मनिषा शाह, नविन लामा, नलि शाक्य, नानो फुङ चेम्जोङ लिम्बू, नरेन्द्र मल्ल, प्रशान्त श्रेष्ठ, राइनी राई, राजु तामाङ ग्लान, रामबहादुर शाही, रुवी महर्जन, सजिना महर्जन, सामना नाछिरिङ राई, सनोद महर्जन ‘सानो’ सरोज तामाङ, सोमी महर्जन, सुजनवीर बज्राचार्य, सुजन बुढाथोकी, सुजन राई र उमा घिमिरेका चित्रकृति राखिएका छन् । मङ्सिर १२ गतेदेखि सुरु भएको प्रदर्शनी मङ्सिर १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया