कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

  मंसिर १५, २०७८

सुर्खेत, मङ्सिर १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको हो ।

मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राख्नुभएको थियो । उहाँले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । मुख्यमन्त्री शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि विश्वासको मत दिएको छ ।

कर्णाली प्रदेश सभामा राप्रपाका १ जना प्रदेशसभा सदस्य छन् । बैठकमा भने प्रमुख प्रतिपक्ष दल एमाले अनुपस्थित रह्यो । महाधिवेशनका कारण एमाले सांसदहरु बाहिर रहनुभएकाले अनुपस्थित हुनुभएको बताइएको छ । त्यसैले मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा शुन्य मत परेको छ ।

कात्तिक १६ गते तीन दलको गठबन्धनबाट नेपाली काँग्रेस सदंसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई काँग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजबादी) को समर्थन रहेको छ । कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा एमालेको १३, माओवादी केन्द्रको १२, काँग्रेसको ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाको बैठकमा बोल्दै कर्णालीको गरिबी अन्त्य गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अघिल्लो सरकारले गरेका कामहरुलाई निरन्तरता दिएर यहाँको गरिबी, रोगभोग र अशिक्षाविरुद्ध अघि बढ्ने उहाँको भनाई छ । उहाँले अब चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया