राष्ट्रिय प्रसारणमा थपियो ५२.४ मेगावाट विद्युत्

  मंसिर १३, २०७८

रामेछाप, मङ्सिर १३ : राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ । रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।


आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाबाट अहिले करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले तीन वर्षमा आयोजना सम्पन्न गरी विद्युत् बिक्री गर्न थालेको हो ।

रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा
खसालिएको छ ।

उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, खिम्तीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनमा जोडिएको छ ।

निर्माण सम्पन्न आयोजनाले तत्कालै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने ग्रिनभेन्चर लिमिटेडका अध्यक्ष सुभाष सङ्घाईले बताउनुभयो । यसअघि रामेछापको हलेदेबँेसीदेखि ओखलढुङ्गा रगनीसम्मको प्रवेश सडकलगायतको पूर्वाधारको काम गरेको थियो ।


लिखु नदीको पानी प्रयोग गरी अन्य छवटा आयोजनासमेत निर्माणाधीन छन् । लिखु १, २, ३ र लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । रामेछाप जिल्लामा लगानीको वातावरण बन्दै गएको प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले बताउनुभयो ।

“रामेछाप र ओखलढुङ्गामा लगानीको राम्रो वातावरण बनेको छ । यहाँ लगानीको कुनै जोखिम छैन । त्यसैले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो । आठ वर्षको अवधिमा रामेछाप जिल्लका सबै घरबस्ती तथा झुपडीलाई उज्यालो बनाउन सफल भएको उहाँको भनाइ छ ।

सुरुमा १२० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिखु–४ जलविद्युत् आयोजनामा भारतीय कम्पनी भिलवारासँगको साझेदारी टुटेपछि ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर काम थालेको थियो ।

तपाईको प्रतिक्रिया