अध्यक्ष ओलीद्वारा चित्रकला प्रदर्शनी उदघाटन

  मंसिर १२, २०७८

सौराहा (चितवन), मङ्सिर ११ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय सम्मेलनको सन्दर्भ पारेर पर्यटकीय नगरी सौराहामा चित्रकला प्रदर्शनी सुरु गरिएको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनीको शनिबार शुभारम्भ गर्नुभयो । प्रगतिशील ललितकला संघ, नेपालको संयोजन रहेको प्रदर्शनीमा ५९ कलाकारको ८२ कलाकृति राखिएका छन् । प्रदर्शनीमा राखिएका कलाकृतिबारे कलाकार नेम गोलेले भन्नुभयो, “समसामयिक एवम् सामाजिक विषयवस्तु समेटिएका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । मानिसभित्र मौलाएको विकृत मनोबृत्ति, सामाजिक भ्रष्टीकरणजस्ता विषय चित्रमा प्रस्तुत छन् ।”

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति केके कर्माचार्य, बुद्धि गुरुङ, कृष्ण मानन्धर, राधेश्याम मुल्मी, शारदा चित्रकार, लय मैनाली, मिथिला देवी, लालकाजी लामा, नेम गोले, सुष्मा राजभण्डारी, मन गोल्डी, दिपेन्द्र बनेपाली, डि बराल, जीवन राजोपाध्यायलगायत कलाकारका मूर्त तथा अमूर्त कृति राखिएका छन् ।

प्रदर्शनीको संयोजन ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं प्राज्ञ लालकाजी लामाले गर्नुभएको छ । उहाँकाअनुसार कलाकारहरुले बन्दसत्रस्थल जाने बाटोमा रहेको सडकका भित्तामा समेत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिबिम्बित हुने चित्र बनाएका छन् । प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया