बाघको आक्रमणबाट एक जनाको मृत्यु

  मंसिर १२, २०७८

बर्दिया, मङ्सिर १२ : बाघको आक्रमणबाट बर्दियामा आइतबार एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजिपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो ।

आइतबार दिउँसो घर नजिकै मध्यवर्ती वनक्षेत्रमा गोठालो गएको बेला पाटेबाघले आक्रमण गरेको हो । दिउँसो पाटेबाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सञ्जेलले जानकारी दिनुभयो ।

बाघले आक्रमण गरेको जानकारी पाउनासाथ नेपाली सेना र निकुञ्जको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । थारुको शव घटनास्थलमै फेला परेको सूचना अधिकारी सञ्जेलले बताउनुभयो । आइतबार साँझ साढे ४ बजे घर नजिकैको खरबारीमा भैँसी चराउने क्रममा थारुलाई बाघले आक्रमण गरेको थियो ।

इलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले खरबारीमा बाघले टाउकोको भाग खाएको अवस्थामा थारुको भेटेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । बाघको आक्रमणबाट बर्दियामा गत आर्थिक वर्षदेखि अहिलेसम्म १५ जनाको मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया