निःशुल्क ग्यास सिलिण्डरसहित चुल्हो वितरण

  मंसिर १२, २०७८

दार्चुला, मङ्सिर १२ : दार्चुलाको अपि हिमाल गाउँपालिकाले “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम अन्तर्गत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत गाउँपालिका अन्तर्गत छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम अन्तरगत ग्यास सिलिण्डरसहित चुल्हो खरिदका लागि ९५ लाख बजेट विनियोजन गरेको थियो । ९५ लाखमा टेण्डरमार्फत् कम्पनी छनोट गरेर गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा अध्यक्ष मन्यालले बताउनुभयो । गाउँपालिकाका इन्जिनियर मानबहादुर धामीका अनुसार ९५ लाख बजेट भएपनि टेण्डर प्रक्रियामार्फत घटाघटीमा काठमाडौँको झंकार कन्सन प्रालीसँग ८५ लाखमा सम्झौता गरेर ग्यास गरिद गरिएको हो ।

गाउँपालिका भरीका १३ सय घरधुरीलाई रेडियण्ट ग्यास वितरण गरिएको र केही परिवार छुटेको भए बाँकी रकमबाट ग्यास खरिद गरेर वितरण गरिने उहाँले बताउनुभयो । अपि हिमालको केन्द्रसम्म सडक नपुगेको कारण वडा नम्बर ५ ओखलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको हो ।

ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको अपि हिमालका स्थानीय डम्बरसिंह बोहराले बताउनुभयो । ‘दाउरा खोज्न निकै समस्या हुन्थ्यो, वनजङ्गल पनि विनाश भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउरा र धुँवाको झन्झट हट्नेछ ।’

गाउँपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् । गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा आयोजित निःशुल्क ग्यास सिलिण्डर तथा चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया