काँग्रेसलाई महाधिवेशनको चटारो : १६५ निर्वाचन क्षेत्रकै अधिवेशन सम्पन्न हुँदै

  मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : सत्तारुढ दल नेपाली काँग्रेस १४ औँ महाधिवेशनको चटारोमा छ । ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न हुने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।

यसअघि नै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ३५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । ‘एक निर्वाचन क्षेत्र भएको ३५ मध्ये ३२ वटा जिल्ला अधिवेशन सम्पन्न भएकोमा अहिलेसम्म ३५ वटै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । यसमा सोलुखुम्बुको सोमबार चुनाव हुँदैछ’, समितिका सचिव जगन्नाथ श्रेष्ठले भन्नुभयो ।

एक निर्वाचन क्षेत्र र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका गरेर जम्मा ६३ जिल्ला अधिवेशन प्रक्रिया जारी रहेको छ । जसमध्ये आइतबारसम्म ४४ जिल्ला सभापतिको परिणाम आइसकेको श्रेष्ठले बताउनुभयो ।

यसैगरी, काँग्रेसले मङ्सिर १० गतेदेखि दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामध्ये धादिङ, दैलेख, बाग्लुङ, सुर्खेत, धनुषाका चार वटै क्षेत्रलगायत विभिन्न क्षेत्रमा मतदान सुरु भएको छ ।

गुल्मी, झापा, उदयपुर, तनहुँ, सप्तरीमा पाँच वटा प्रदेश, महोत्तरीमा क्षेत्र नम्बर १ लगायतका जिल्लामा मतगणना जारी छ । दैलेख, सुनसरी, मोरङलगायत जिल्लामा मतगणनाको प्रक्रिया सुरु हुन लागेको उहाँले बताउनुभयो ।

‘देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति आउनेक्रम जारी छ । सिराहमा पनि चार वटा क्षेत्रको प्रक्रिया अगाडि बढेको छ’, श्रेष्ठले भन्नुभयो, ‘सर्लाहीमा अधिवेशन सुरु भइसकेको छ, भोलि वा पर्सीसम्ममा मतपरिणाम सार्वजनिक हुन्छ ।’

रौतहटको क्षेत्र नम्बर १, २ र ३ को अधिवेशन सम्पन्न भइसकेको र क्षेत्र नम्बर ४ मा प्रक्रिया सुरु भएको छ । बारामा प्रक्रिया अगाडि बढेको र पर्सामा मङ्सिर १३ गते क्षेत्रीय अधिवेशनको तयारी गरिएको छ ।

प्रदेश अधिवेशन मङ्सिरको कार्यतालिका मङ्सिर १६ र १७ गते तय भए पनि सिन्धुली, मकवानपुर, कैलाली र चितवनले यो अधिवेशनपछि गर्ने बताइएको छ । ललितपुरमा आइतबार जिल्ला अधिवेशन सम्पन्न भयो । ‘काठमाडौँ र भक्तपुरको अधिवेशन प्रक्रिया जारी छ’, उहाँले बताउनुभयो ।

काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

तपाईको प्रतिक्रिया