‘ओमिक्रोन’काे अवस्था जान्न ७५० नमुना जिन सिक्वेन्सिङ्का लागि बेलायत पठाइयो

  मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास बढीरहदा नेपालमा यो भेरियन्ट भित्रिएको छ कि छैन भन्न्ने बुझ्नका लागि नेपालबाट ७५० नमुना जिन सिक्वेन्सिङ्का लागि बेलायत पठाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयका सूचना अधिकारी एवम् सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन भित्रिएको छ कि छैन भन्ने बारेमा बुझ्नको लागि उक्त नमुनाहरु पठाइएको बताउनुभयो ।

‘नेपालबाट जिन सिक्वेन्सिङ्का लागि नमुनाहरु त नियमित रुपमा पठाइँदै आएको छ । तर,पछिल्लो नयाँ भेरियन्टको त्रास बढीरहेको बेला अलि बढी नमुनाको परीक्षणका लागि पठाइएको छ,’ उहाँले भन्नुभयो ।

टेकुस्थित केन्द्रीय प्रयोगशालामा पनि केही नमुनाहरु परीक्षण गर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । केही दिनमा रिपोर्ट आएपछि मात्र नेपालमा नयाँ भेरियन्टको अवस्था के छ ? भन्न सकिने डा. अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया