नयाँ भेरियन्टको जोखिम रोक्न नाकामा निगरानी र अनिवार्य पीसीआर : मन्त्रालय

  मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको चासोको विषय बनेको छ। विभिन्न देशले यो भेरियन्ट आफ्नो देशमा फैलिन नदिन उच्च सतर्कता अपनाउन सुरु सुरु गरिसकेका छन् ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी १. १.५२९ नाम दिएको यो भेरियन्टलाई २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो । डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो। यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ ।

ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोखिम बढिरहेको वैज्ञानिकको भनाइ छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ । यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुन सक्ने भन्दै वैज्ञानिकले सचेत रहन आग्रहसमेत गरेका छन् । नेपालसमेत अहिलेदेखि नै सचेत हुनुपर्ने विज्ञको भनाइ छ ।

के छ मन्त्रालयको तयारी ?
नेपालमा पनि नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी सुरु गरिसकेको छ। मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना रहेको भन्दै मन्त्रालयले तयारी सुरु गरेको बताउनुभयो ।

‘नेपालमा अहिलेसम्म नयाँ भेरियन्ट पुष्टि भएको छैन तर मन्त्रालयले नेपालमा तयारी सुरु गरिसकेको छ’, डा. अधिकारीले भन्नुभयो, ‘यो भाइरस व्यक्तिबाट सर्छ, जबसम्म हामी एक ठाउँबाट अर्को मुभमेन्ट हुन्छ । यो फैलने खतरा पनि उस्तै हुन्छ। त्यसैले नेपालमा पनि नयाँ भेरियन्ट आउने जोखिम छ।’

सरकारले अहिले नेपाल प्रवेश गर्ने नाका निगरानी गर्न सुरु गरेको अधिकारीको भनाइ छ । नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य पीसीआर गरेको तयारी मन्त्रालयले गरेको छ । विदेशबाट आएका नागरिकको पीसीआर रिपोर्ट पोजेटिभ आएमा तुरुन्त जिन सिक्वेन्सिङ गर्न पठाउने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

‘बाहिरबाट आउने मानिसको निगरानी तथा परीक्षण गर्ने काम भइराखेको छ,’ डा.अधिकारीले थप्नुभयो, ‘परीक्षण गरिएका मध्येबाट जिन सिक्वेन्सिङ गर्न निर्देशन दिएका छौँ।’

हवाई नाका र विभिन्न सीमा नाकामा हेल्थ डेस्क राखेर टेस्ट गर्ने र यदि शंकास्पद भेटिएमा क्वारेन्टिनमा राख्न निर्देशन दिइसकेको डा. अधिकारीले जनाकारी दिनुभयो। जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट भित्रने जोखिम सधैँ रहने भन्दै सबैले आफ्नो तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालन गर्नुपर्ने डा. अधिकारी सुझाव दिनुभयो।

नेपालमा कति जोखिम
पहिलो र दोस्रो लहरले अस्तव्यस्त बनाएको नेपालमा पनि नयाँ भेरियन्ट फैलने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्। दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट–अन्य मुलुकमा पनि देखिन थालेकाले नेपाल सतर्क हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

डा. पुनका अनुसार यो भेरियन्ट कति संक्रामक हुन्छ भन्ने एकिन भइसकेको छैन। ‘पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरु थप घातक छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन’, उहाँले भन्नुभयो, ‘भारतले अफ्रिका र हङकङबाट प्रवेश गर्ने यात्रुलाई निगरानी राख्न निर्देशन दिएको छ’, डा. पुन भन्नुहुन्छ ।

अहिले नेपालमा हवाई पनि खुला भइसकेको छ। नयाँ भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई सम्पर्क नभए पनि अन्य मुलुक भएर त्यहाँका नागरिक नेपाल आउन सक्छन् । जसले थप जोखिममा निम्ताउन सक्ने पुनको भनाइ छ ।

भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने पुनको तर्क छ । डा. पुन भन्नुहुन्छ, ‘यसअघि संक्रमण भारतमा फैलिएपछि नेपालमा रोक्न गाह्रो भएको थियो’, उहाँले भन्नुभयो, ‘यो भेरियन्ट पनि भारतमा फैलियो भने नेपालमा तुरुन्त फैलन सक्छ। हामी अहिलेदेखि नै सचेत हुनुपर्छ ।’

नेपालले पनि अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न नाकामा निगरानी राख्न जरुरत भएको पुनको सुझाव छ। ‘पछिल्लो समय मानिस स्वास्थ्यका मापदण्ड भुलेर सभा र सम्मेलन गरेको देखिन्छ । यसले थप चुनौती थएिको छ’, उहाँले भन्नुभयो ।

‘ओमिक्रोन’ भाइरस दक्षिण अफ्रिकाबाहेक अन्य ठाउँमा फैलिएको सङ्केत देखापरेको छ । अमेरिकाले न्युयोर्कमा सङ्कटकाल घोषणा गरेको छ । यस्तै बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, इजरायल, जर्मनी, ब्राजिल, बेल्जियम, रुस र हङकङमा समेत यो भाइरस फैलिन नदिन कडाई गरिएको छ ।

नेपालमा ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी बारे छलफल गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसिरहेको छ।

तपाईको प्रतिक्रिया