घर आगलागी हुँदा ३२ लाख रुपियाँ बढीको क्षति

  मंसिर ११, २०७८

ताप्लेजुङ, मङ्सिर ११ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक घरमा आगलागी बत्तीस लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङ भाङ्टारका स्थानीय चैतन्य यक्सो लिम्बूको घर आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय चाँग दोभानका अनुसार लिम्बूको काठ तथा ढुङ्गा–माटोले बनेको घर र मतानघर जल्दा ३२ लाख ३९ हजार रुपियाँ बराबर क्षति भएको छ । विजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट एकलाख ६४ हजार रुपियाँ नगदसहित सुन, चाँदीका गरगहाना, खाद्यान्न, फर्निचर सामग्री, टेलिभिजन, मोबाइल, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घर आगलागीबाट नष्ट भएपछि हाल त्रिपाल टाँगेर बस्दै आएको अग्निपीडित परिवारकी सदस्य टीका यक्सोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया