बजार क्षेत्रमा पार्किङ गर्दा स्थानीयले पाए सास्ती

  मंसिर ११, २०७८

डडेल्धुरा, मङ्सिर ११ : सुदुरपश्चिम प्रदेशको हिलसिटीका रुपमा रहेको डडेल्धुरा जिल्लामा बढ्दो सवारी चापसँगै साँघुरो सडक र त्यसैमाथि सडक किनारामा गरिने अव्यवस्थित पार्किङ्गका कारण यात्रु तथा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । सडकको चौडा गर्ने काम हुन सकेको छैन भने साँघुरा सडकमै गरिने पार्किङ्ग र निर्माण सामाग्री हटाउन कसैको ध्यान पुगेको छैन ।

सात पहाडी जिल्लाको प्रवेशद्वार रहेको डडेल्धुरा सदरमुकाम बागबजारमा साँघुरो सडक त्यसैमाथि सडकको दायाबायाँमा गरिने पार्किङ्ग र निर्माण सामाग्रीले बजार कुरुप बन्दै गइरहेको छ । बजार क्षेत्रमा गरिने पार्किङ्गले यात्रुहरुलाई निकै सास्ती खेप्नु परिरेको छ ।

‘डडेल्धुराको मुख्य बजारका रुपमा रहेको बागबजार, तुफानडाँडा, कीर्तिपुर, अस्पताल रोड, प्रशासन रोड र बगरकोट रोडलगायतका क्षेत्रमा गरिने अव्यवस्थित पार्किङ्गले समस्या निम्त्याएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । बजारमा घण्टौ जामलाग्ने गरेको छ भने पैदल यात्रुहरुलाई समेत समस्या हुने गरेको छ’, प्रजिअ जोशीले भन्नुभयो ।

नगरपालिकाले सडकको दायाँबायाँ रहेका खोकाछाप्रा हटाएर सुन्दर सडक निर्माण गरेको भए पनि सडककबीच भागमै गरिने पार्किङ्गले यातायात संञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढाएको अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताउनुभयो । सडकमै गरिने पार्किङ्ग र निर्माण सामाग्री हटाउन पटक–पटक स्थानीय तहले आग्रह गरे पनि सम्बन्धित निकायले कुनै चासो नदिएको नगरप्रमुख ओझाले गुनासो गर्नुभयो ।

डडेल्धुरा जिल्लाको क्षेत्रमा पर्ने मुख्य राजमार्ग र सहायक राजमार्गहरुमा यातायात व्यवस्था सही रुपमा सुचारु गर्न राजमार्गमा सवारी व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरीको परिचालनसँगै सुरक्षाकर्मीहरुको समेत परिचालन गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया