छाङरु र तिङ्करमा जनगणना

  मंसिर ११, २०७८

दार्चुला, मङ्सिर ११ : दार्चुलाको व्यास गाउँपालिका–१, छाङरु र तिङ्करमा पनि जनगणना गरिएको छ । जोखिम मोलेर छाङरु र तिङ्कर पुगेको जनगणना टोलीले तीन दिन लगाएर जनगणना गरी दार्चुला सदरमुकाम खलङ्गा फर्किसकेको छ ।

भारतको बाटोबाट जान नपाएपछि स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । मङ्सिर ३ गते शुक्रबार खलङ्गाबाट त्यसतर्फ गएको जनगणना टोली मङ्सिर ६ गते छाङरु पुगेर जनगणना सुरु गरेको थियो ।

तीन दिनमा छाङरु र तिङ्कर गाउँमा जनगणना गरी टोली बिहीबार खलङ्गा फिर्ता भइसकेको जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो । टोलीलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत खलङ्गा ल्याइएको उहाँले बताउनुभयोे ।

जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिंह कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर जानुभएको थियो । दुम्लिङबाट एकजना स्थानीय बाटो देखाउने मान्छे टोलीसँगै गएको कार्कीले गोरखापत्रलाई जानकारी दिनुभयो ।

खलङ्गाबाट पहिलो दिन व्यास गाउँपालिका–२, दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेर जनगणना थालेको उहाँले बताउनुभयो । अधिकांश क्षेत्रमा बाटो भत्किएकाले बुट्यान समात्दै केही ठाउँमा पहाड चढेर र कुनै ठाउँमा बाटो बनाएर यात्रा गरी छाङरुसम्म पुगेको यात्राविवरण कार्कीले सुुनाउनुुभयो । दुम्लिङभन्दा माथिल्लो क्षेत्रको मानव बस्ती छाङरुमा मात्र छ । दुई दिन राति भेडी गोठहरूमा बसेको सुनाउँदै उहाँले ‘थी’ र ‘बुदी’को भेडीखर्कमा बसेको बताउनुभयो ।

जाँदा जोखिमपूूर्ण यात्रा गरी चार दिन हिँडेर गएका थियौँ, कार्कीले भन्नुभयो, आउँदा विभागले हेलिकप्टरको व्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम खलङ्गा आइपुग्यौँ । सो क्षेत्रमा चिसो बढेपछि तिङ्करका केही परिवार जनगणना टोली पुग्नुभन्दा पहिला नै खलङ्गा झरेका छन् । सदरमुकाम झरेकाहरूको गणक परिचालन गरेर सदरमुकाममै गणना गरिएको छ ।

छाङरु र तिङ्कर गाउँमा रहेका ११३ घरपरिवार तथा त्यहाँस्थित एउटा सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकीमा जनगणना गरिएको कार्कीले बताउनुभयो । नेपालमा हिँड्न निकै जोखिमपूर्ण बाटो भएकाले महाकाली नदीमा तुइनको प्रयोग गरी भारतीय बाटो भएर जनगणना टोली जान सक्ने भन्दै भारतले सुरक्षा निगरानी बढाएको कार्कीले बताउनुभयो ।

व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमा लगाइएका तुइनमा भारतीय सुरक्षा निकायले निगरानी बढाएको टोलीमा सहभागी लोकेन्द्र टेरले बताउनुभयो । छाङरु र भारतको गरब्याङ गाउँ जोड्ने सीतापुल नाकामा पनि जनगणनाको समय पहिलेभन्दा तेब्बर सुरक्षाकर्मी परिचालन गरेको पाइएको उहाँको भनाइ छ ।

छाङरु र तिङ्करमा जनगणना गर्न भारतीय सडक भएर जान जिल्ला प्रशासन कार्यालयले गत कात्तिक २६ गते भारतको पिथौरागढ जिल्लाको धार्चुला तहसिलसँग अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिँदा जनगणना प्रभावित हुन सक्ने भन्दै जनगणना कार्यालयले स्वदेशबाटै जनगणना टोली पठाएको थियो ।

तपाईको प्रतिक्रिया