काठमाडौँमा पहिलो ड्राइभ-इन फिल्म शो

  मंसिर १०, २०७८

काठमाडौँ, मंसिर १० : काठमाडौँमा पहिलो पटक ड्राइभ-इन फिल्म शो सुरु भएको छ । इम्मानुएल मेयरले निर्देशन गर्नुभएको चलचित्र ‘अ फिश टेल’को बिहीवार सोल्टी होटलमा विशेष प्रदर्शनीसँगै १३औँ इजरायली फिल्म फेस्टिभल पनि सुरु भएको हो ।

ड्राइभ-इन फिल्म शोले फिल्म मन पराउने जो कोहीले पनि आफ्नै गाडीबाट यो अनौठो अनुभव लिन सक्नुहुनेछ ।

फिल्म फेस्टिभलमा अतिथिहरूलाई स्वागत गर्दै नेपालका लागि इजरायलका राजदूत हानान गोडरले महोत्सवको उद्घाटन फिल्मको सन्दर्भमा भन्नुभयो, ‘विदेशी कामदार र इजरायलका चुनौतीहरूबारे आज यो कथा साझा गर्न पाउँदा हामी गर्व महसुस गर्छौं। याे इजरायलमा आप्रवासी कामदारको परिवारको कथा हाे ।’

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र इजरायलबीचको संस्कृति, भाषा र मूल्य-मान्यताको आदानप्रदान र प्रवद्र्धनमा यो चलचित्र महोत्सव कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

‘म इजरायली चलचित्र निर्माता र लगानीकर्तालाई नेपाल आएर चलचित्रमा आफ्नो कला देखाउन निमन्त्रणा गर्न चाहन्छु,’ मन्त्री आलेले नेपालमा चलचित्र छायांकन गर्न छुट प्रणाली लागू गर्न सम्बन्धित मन्त्रालयसँग काम गरिरहेको जानकारी दिनुभयो ।

महोत्सव अन्तर्गतका चलचित्रहरू नोभेम्बर २६ र २७ गते सर्वसाधारणका लागि खुला गरिने छन् । फिल्मको लागि प्रवेश निःशुल्क भएतापनि दर्शकहरूले ड्राइभ-इनमा पार्किङ स्थल सुरक्षित गर्न सोल्टी होटलको वेबसाइट www.soaltee.com मार्फत दर्ता गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया