कम्युनिस्ट आन्दोलनको निरन्तरताका लागि विद्रोह : नेपाल

  मंसिर ०९, २०७८

सुर्खेत, मङ्सिर ९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिस्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताउनुभएको छ ।

समाजवादी पे्रस सङ्गठन सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताउनुभयो ।

तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उहाँले भन्नुभयो, ‘अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।’

एमालेले भोलिदेखि चितवनमा हुन लागेको १० औँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताउनुभयो ।

एकीकृत समाजवादीको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत आइपुग्नुभएको हो ।

तपाईको प्रतिक्रिया