अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

  मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन ।

नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलव्ध गराइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कीर्तिपुर पहिलो पालिका भएको छ । यही मङ्सिर ७ गतेदेखि लागूहुने गरी नगरप्रमुख रमेश महर्जन र नेरेसोका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाबीच सो सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट उपप्रमुख सरस्वती रिजाल खड्का र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा तथा सोसाइटीका तर्फबाट कार्यकारी निर्देशक उमेश ढकाल र केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले पनि हस्ताक्षर गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने ध्येयले सम्झौता गरिएको जानकारी दिनुभयो ।

नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रीत गरेको जानकारी दिँदै रक्त सञ्चार सेवालाई चुस्त बनाइने बताउनुभयो । उहाँले भन्नुभयो “रक्तदानका बारेमा थप सचेतना आवश्यक छ । यसका लागि पालिकाहरुको अहं भूमिका हुन्छ ।” केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले भन्नुभयो “सुलभ र निःशुल्क रगत उपलव्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो । अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।”

रगत परीक्षण र सेवाशुल्कको लागि नगरपालिकाले रु १० लाख बिनियोजन गरेको जनाइएको छ । सम्झौतामा रगतको आपूर्ति बमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई शोधभर्ना दिइने उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तिमा दुइपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।

कार्यक्रममा रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका उपनिर्देशक डा प्रकाश यादवले जानकारी दिनुभएको थियो । सो कार्यक्रममा नेरेसोका उपाध्यक्षद्वय शर्मिला कार्की र डा विश्वकेशर मास्के, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा विभिन्न वडाका वडाध्यक्षको सहभागितो थियो ।राष्ट्रिय समाचार समितिका अनुसार ले जनाएको छ ।

तपाईको प्रतिक्रिया