जाडोमा पानी कम पिउनाले छाला सुक्खा हुन्छ, कसरी जोगाउने ?

  मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : गर्मीमा विभिन्न संक्रमणजन्य रोग लागेजस्तै जाडो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन् । हातखुट्टा फुट्ने, सुन्निने, छालामा निलो, रातो डाम देखिने जस्ता समस्या देखिने छाला रोग विशेषज्ञ प्रा. डा. सविना भट्टराई बताउनुहुन्छ । जाडो मौसममा हामीले घामबढी ताप्ने हुँदा छाला सुक्खा हुने, चाया पर्ने, कालो दाग बढीमात्र देखिने भट्टराईको भनाइ छ ।

चिसोमा आवश्यक मात्रामा शरीरमा पानीको मात्रा पुग्दैन, यसले गर्दा छाला रुखो हुन्छ । लभना स्कीन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकसमेत रहनुभएकी डा. भट्टराईका अनुसार मौसमसँगै जाडोमा वायुको आर्द्रता कम हुन्छ । मानिस अनुसार फरकफरक छाला हुन्छ । छाला अनुसार मोइस्चराइजर क्रिम लगाउनु पर्ने डा. भट्टराईको सुझाव छ ।

जाडोमा तिर्खा लाग्दैन तर धेरै घाम ताप्ने हुँदा हाम्रो शरीरमा पानी सुक्दै जान्छ । त्यसैले एकदेखि डेढ लिटर पानी पिउनुका साथै झोलिलो खानेकुरा खान डा. भट्टराई आग्रह गर्नुहुन्छ । जाडोमा छाला सुक्खा हुन नदिन मोइस्चराइजर क्रिमको प्रयोग नभए नरिवलको तेल वा वोलिभको आयलको नियमित प्रयोग गर्न डा. भट्टराईको सुझाव छ । त्यसैगरी घाम ताप्दा घामतिर मुख नफकाई बस्न डा भट्टराईको सुझाव छ । डा. भट्टराईका अनुसार जाडोमा नुहाउँदा मनतातो पानीले नुहाएर अलिअलि पुछेर तेल, लोसन लगाउनुपर्छ ।

जाडोमा चिसोबाट बच्न ऊनबाट बनेका बाक्लो लुगा लगाउँदा शरीर सुक्खा हुने भएकाले शरीर छाेप्नेगरी सुतीको पातलो लुगा लगाउन चिकित्सकले सुझाव दिएका छन् । जाडो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ भने हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ । मौसमी फलफूल सेवन गर्दा जाडोमा छालालाई स्वास्थ्य राख्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

गाउँघर तथा हिमाली क्षेत्रमा बस्ने प्रायको हात, खुट्टाका औँला रातो भएर सुन्निने, गाला फुट्ने समस्याले सताउने गर्छ । त्यसको उपचारका लागि घरमा पाइने नाैनी राख्ने डाक्टर भट्टराईको सुझाव छ । सुक्खा हुनबाट जोगाउनका निम्ति हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनुपर्छ । छालाको प्रकृति हेरेर मोस्चराइजर क्रिम र लोसन प्रयोग गर्नुपर्छ । सकेसम्म विशेषज्ञको सल्लाहमा मोस्चराइजर क्रिम वा लोसनको प्रयोग गर्दा राम्रो हुन्छ । छाला सुक्खा राख्न बजारमा पाइने क्रिम उपलब्ध नभए गाउँघरमा उत्पादन हुने घिउ वा तेल लगाउन सकिने गोरखापत्र अनलाइनसँग डा भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया