अन्तर्राष्ट्रिय टेबलटेनिस माघमा

  मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : ललितपुर टेबलटेनिस क्लबको आयोजनामा आगामी माघ १२ देखि १५ गतेसम्म चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्ड, युएई, दक्षिण कोरियासहित देशबाट करिव एक हजार खेलाडीको सहभागिता रहने बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी दिनुभयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितालाई नेपाल टेबलटेनिस संघले प्राविधिक सहयोग गर्नेछ । बङ्गलादेश र पाकिस्तानबाट दक्षिण एसियाली खेलकुदमा सहभागी राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष तथा महिला टिम, पुरुष तथा महिला भेट्रान एकल (४० वर्षमाथि) तथा पुरुष भेट्रान एकल (५५ बर्षमाथि) को स्पर्धा समावेश गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।

प्रतियोगितामा पुरुष र महिला एकल तथा पुरुष र महिला टिमतर्फका पहिलो र दोस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार रुपियाँ तथा तथा सेमिफाइनलमा पुग्नेले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । भेट्रान एकलतर्फका विजेता, उपविजेता र सेमिफाइनलमा पुग्नेलाई क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि बुधबार नै ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दीप जोशी र सम्झना ल्याबोरेटोरीका निर्देशक रजना श्रेष्ठले आर्थिक प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार सम्झना ल्याबोरेटोरीले १० लाख ७५ हजार रुपियाँ सहयोग प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया