त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २२ हजार यात्रु आउजाउ

  मंसिर ०७, २०७८

काठमाडौं, मङ्सिर ७ : कोरोना महामारीसँगै ठप्प भएको हवाई उडान व्यवसाय पछिल्लो समय फष्टाउन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार हाल दैनिक रुपमा २२ हजार भन्दा बढी यात्रुहरुले आवतजावत गर्दै आएका छन् ।

विमानस्थलका अनुसार हाल दैनिक २८६ वटा आन्तरिक उडान र ५४ वटा अन्तराष्ट्रिय उडान हुँदै आएको छ । यी उडानबाट १५ हजार ३७८ जना आन्तरिक र सात हजार ४४ जना अन्तर्राष्ट्रिय उडानबाट गरी २२ हजार ४२२ जना यात्रुहरु आवतजावत हुने गरेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार हवाइ सेवा लिने यात्रुको संख्या दोव्वरले बृद्धि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । हाल आन्तरिक वायूसेवाका लागि नौ वटा वायुसेवा कम्पनी र अन्तर्राष्ट्रियस्तरमा ३३ वटा वायुसेवा कम्पनीले काठमाडौंबाट दैनिक उडान भर्दै आएका छन् ।

नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गर्नुभएको छ । युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गर्नुभएको हो ।

मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालोसूचीबाट हट्ने छ ।” उक्त छलफका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उहाँ काठमाडौँमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया