गोठाला झरेपछि सुनसान बुकी, गाउँतिर रमझम

  कार्तिक १८, २०७८

बागलुङ, कात्तिक १८ : गत जेठमा गाई, भैँसी, भेडा लिएर चरणमा (बुकी) जानु भएका लिलबहादुर अदै आफ्ना सम्पत्ति (गाईभैसी, भेडा, घोडा) लिएर अघिल्लो साता अधिकारीचौर फर्कनुभयो । ढोरपाटन नगरपालिका–६ अधिकारीचौर निवासी अदै लेकमा चार महिना बिताएर ढोरपाटन झर्नुभएको थियो ।

ढोरपाटन शिकार आरक्ष आसपासको जग्गामा भदौदेखि असोजसम्म एक महिना बिताएर जोडा छल्न वस्तुभाउ लिएर अघिकारीचौर फिर्ता हुनुभएको हो । गर्मी महिनामा गाउँ छोडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ्, निसी, देवीस्थान, बुर्तिवाङ झरे पछि गाउँमा चहलपहल बढेको छ । बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ज्योती विकास आधारभुत विद्यालय ढोरपाटनका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्ने बाहेक कृषक र पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । हिउँदको बाली लगाउन गाई, भैसी, भेडा लिएर तल झरेका किसान बैशाखमा फेरि बुकी जान्छन्् । गोठालाहरु बेसी झरेपछि ढोरपाटनको नवी, स्यालपाखे, पाखाथर, भुजी, निसेलढोर, छेन्तुङका घर तालाचावी लगाएका छन् । तिब्बती शरणार्थीबाहेक अन्य स्थानीय लेकबेसी गर्छन् । बालबालिकाको पठन पाठनसमेत घुम्ती विद्यालयमार्फत हुने अदैको भनाइ छ ।

बुकीबाट झरेका बस्तुभाउलाई गोठालाहरुले मलको लागि बारीमै छोड्न गर्छन । मल पुगे पछि खनजोत गरेर हिउँदे बाली (गहुँ, जौ, फापर ) लगाउने गरेको बोवाङका तमबहादुर कायतले जानकारी दिनुभयो । मकै छरेर पछि बैशाख १५ देखि ढोरपाटन क्षेत्रमा उक्लने ढोरवासी जेठ १ गतेदेखि ढोरपाटनको माथिल्लो भाग बुकी क्षेत्रमा पशुचौपाया लिएर जाने गरेको स्थानीय श्यामकुमार विकको भनाइ छ ।

गाउँ क्षेत्र, ढोरपाटन क्षेत्र र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाहरुले बर्ष गुजार्छन । तल्लो क्षेत्रमा मकै, गहुँ, ढोरपाटन क्षेत्रमा आलु बाली लगाए पछि गोठालाहरु चार महिनालाई खाना पुग्ने खर्च लिएर बुकी जान्छ । गर्मी मौषसमा बस्तुभाउको लागि आवश्यक घाँस बुकीमा पाउने हुँदा पशुपालन क्षेत्रमा आबद्ध ढोरवासी घुम्ती बसाईमा निस्कने विकको भनाइ छ ।

दिउँदमा हिमपात, हुने जाडो बढन् भएकाले जाडो छल्न बेसी झरेको कृषक तमबहादुर कायतको भनाई छ । पुर्खाहरुले सुरु गरेको चलनलाई नयाँ पुस्ताले पनि पछ्याएका छन् । वैदेशिक रोजगार र अध्ययन तथा रोजगारको लागि सदरमुकाम तथा जिल्ला बाहिर जाने युवा बाहेक गाउँमा बस्ने जवानहरु पनि लेकबेसी गर्छन । ढोरपाटन नगरपालिका ६, ७, ८ र ९ नम्बर वडाका स्थानीयको मुख्य आयस्रोत आलु खेती र पशुजन्य उत्पादन हो ।

‘बर्खामा संकलन भएको घिउ बेचेर घरखर्च चल्छ’ तमबहादुर कायतले भन्नुभयो–‘भेडा, बाख्रा, साँड, रांगो पनि बेच्ने गरिन्छ ।’ ६७ बर्षिय कायत अझै पनि लेकबेसी गर्नुहुन्छ । बर्खाको समय बुकी जाने गोठालालाई घरमा रहेका परिवारका सदस्यका बेलाबेलामा खर्च पुर्याउने गर्छन् । हिउँदमा बुकी क्षेत्र र ढोरपाटनमा बास्लो हिउँ पर्ने हुँदा धेरै पशुचौपया हुने कृषक अनिवार्य बेसी झर्नुपर्ने बाध्यता हुन्छ ।

तपाईको प्रतिक्रिया