लिभरपुलसँग हार्यो एट्लेटिको म्याड्रिड, दुई गोल गर्ने ग्रिज्म्यानलाई रातो कार्ड

  कार्तिक ०३, २०७८

म्याड्रिड, कात्तिक ३ : एन्टोनियो ग्रिज्म्यानले दुई गोल गरेपछि रातो कार्ड बेहोर्दा च्याम्पियन्स लिगमा स्पेनको च्याम्पियन एट्लेटिको म्याड्रिड इङ्गल्यान्डको लिभरपुलसँग रोमाञ्चक खेलमा ३–२ ले पराजित भएको छ ।

लिभरपुलको जितमा मोहम्मद सलाह चम्कनुभयो । ग्रिज्म्यानले रातो कार्ड बेहोरेको फाइदा उठाउँदै सलाहले दुई गोल गर्नुभयो । लिभरपुलका लागि नाबी केइटाले पनि पूर्वार्द्धमा गोल गर्नुभएको थियो । यस जितपछि च्याम्पियन्स लिगमा लिभरपुल तीन खेलमा तीन जित हासिल गरी समूह बीमा शीर्षस्थानमा कायम छ ।

पूर्वार्द्धमा दुई गोल गरिसकेका ग्रिज्मयानले उत्तरार्द्धको सुरुआतमै रोबर्टो फर्मिन्होको टाउकोमा प्रहार गरेपछि सीधै रातो कार्ड पाउनुभएको थियो । जसको फाइदा उठाउँदै खेलको ७८ औँ मिनेटमा सलाहले पेनाल्टीमा निर्णायक गोल गर्नुभयो । इजिप्टका फरवार्ड सलाहले लगातार नौ खेलमा गोल गर्नुभएको हो ।

लिभरपुलको १२९ वर्षको इतिहासमा यस्तो गौरव हासिल गर्ने सलाह पहिलो खेलाडी बन्नुभएको छ । लिभरपुलले तेस्रो गोल गरेको केही क्षणपछि नै एट्लेटिकोले पनि पेनाल्टी पाएको थियो तर भिडियो रिभ्यूपछि सो निर्णय उल्ट्याइयो ।

तपाईको प्रतिक्रिया