भियरीको आर्सनलमा पुनरागमन, खेल बराबर

  कार्तिक ०२, २०७८

लन्डन, कात्तिक २ : इङ्लिस प्रिमियर लिगमा आर्सनल सोमबार राति घरेलु मैदानमा क्रिस्टल प्यालेससँग २–२ ले बराबरीमा रोकिएको छ ।

सो खेल आर्सनलका लिजेन्ड प्याट्रिक भियरा पुनः इमिरेट्स स्टेडियममा विपक्षी टिमको प्रशिक्षकको रुपमा फर्कनुभएकोले पनि चर्चामा रहेको थियो । फ्रान्सका भियरीको आर्सनलमा ठूलो नाम छ । उहाँ आर्सनलका पूर्व कप्तान पनि हुनुहुन्छ । भियरा गत जुलाईमा क्रिस्टल प्यालेसको प्रशिक्षकमा नियुक्त हुनुभएको हो ।

भियरीको रेखदेखमा एक आक्रामक टिमको रुपमा परिवर्तन भएपनि क्रिस्टल प्यालेसले पछिल्ला आठमध्ये एक खेल मात्र जितेको छ । यसपटक पनि जितको नजिक पुगेर क्रिस्टल प्यालेस निराश हुनुपर्यो । भियरीले खेलपछि भन्नुभयो– आकर्षक राम्रो खेल खेल्नु मात्र पर्याप्त हुँदैन । जित महत्वपूर्ण हुन्छ । म धेरैभन्दा धेरै खेल जित्न चाहन्छु ।

प्रशिक्षक भियराको टिमले आर्सनललाई झन्डै स्तब्ध पनि बनाइसकेको थियो । तर आर्सनलका स्थानापन्न खेलाडी अलेक्ज्यान्दर लाकाजाटेले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गरेपछि खेल नाटकीयरुपमा २–२ ले बराबरीमा सकियो ।

खेलको आठौँ मिनेटमा कप्तान पियरी इमरिक अउबामियाङको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । तर क्रिस्टियन बेन्टेके र इुडवार्डको गोलबाट क्रिस्टल प्यालेसले खेल बराबर मात्र गरेन अग्रता पनि बनायो । तर लाकाजाटेको गोलपछि क्रिस्टल प्यालेसले खेल जित्न सकेन । यस बराबरीपछि आर्ससलले बराबरीपछि १२ औँ र क्रिस्टल प्यालेस १४ औँ स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया