मुस्ताङको उच्च पहाडमा हिमपात, बेनी जोमसोम सडकमा अवरोध

  कार्तिक ०२, २०७८

बेनी, कात्तिक २ : पछिल्लो दुई दिनदेखिको अविरल वर्षाले हिमालपारीको जिल्ला मुस्ताङका उच्च पहाडमा हिउँ परेको छ भने बेनी जोमसोम सडक खण्डको विभिन्न स्थानमा अविरल वर्षाले गर्दा सडकमा हिलो जम्दा समस्या भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोला तथा म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर क्षेत्रको सडकमा सोझो यातायात सञ्चालनमा समस्या भएको छ ।

प्रजिअ पौडेल भन्नुहुन्छ– प्रहरी, स्थानीय बासिन्दा र यातायात व्यवसायीहरुको समेत समन्वयमा सडकमा फसेका गाडीलाई गन्तव्यतर्फ पठाउने काम भएको छ । अवरुद्धै चाहिँ होइन हिलोमा गाडी फस्ने समस्या भएको हुँदा काभ्रे गाउँ मुनी गाडी तान्नका लागि जेसीबीलाई स्ट्याण्डबाई राखीएको प्रहरी चौकी दानाले जनाएको छ ।

मुस्ताङको उच्च पहाडमा हिउँ परेको छ । दुई दिनदेखि लगातारको वर्षाको कारण चिसो बढ्नुका साथै हिउँ समेत परेको मुक्तिनाथका होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीको भनाइ छ । सुवेदी भन्नुहुन्छ–‘अहिलेको समय मौसम खुल्ला हुने तथा हिमशृङ्खलाको अवलोकन गर्न मिल्ने मौसम हो तर वर्षा सँगै हिमपात तथा बादलले ढाकेको अवस्था छ ।’ दशैं तिहारको बिदा मनाउन आएका आन्तरिक पर्यटक वर्षाले गर्दा सडकमा गाडी फस्दा गन्तव्यमा पुग्न नसकेर गाडीमै रात बिताउनुपरेको सुवेदीले बताउनुभयो ।

मुस्ताङ जिल्ला सक्रिय सङ्क्रमित मुक्त भएको हुँदा पवित्र तीर्थस्थल मुक्तिनाथमा दैनिक ७ सयभन्दा धेरै दर्शनार्थी पुग्ने गरेको अहिलेको अवस्थामा वर्षाले गर्दा सडकमा जोखिम हुँदा आन्तरिक पर्यटकहरु घट्न सक्ने मुस्ताङका होटल व्यवसायीको भनाइ छ । पानी कम पर्ने भनेर चिनिने मुस्ताङ जिल्ला भित्रका सडकहरु पनि अहिले हिलाम्य भएका छन् । सामान्यतया मङ्सिरदेखि चिसो बढ्ने भए पनि यस वर्ष भने लगातारको वर्षाले गर्दा चिसो पनि ह्वात्तै बढेको सुवेदीले बताउनुभयो ।

सिमा प्रहरी चौकी लोमन्थाङकमा सइ डोलराज भण्डारीका अनुसार पानी पर्न रोकिएको छैन भने चिसो विगतको तुलनामा बढेको छ । गत वर्षको असारमा लोमन्थाङ प्रहरी चौकीको इन्चार्जका रुपमा पुगेका भण्डारीले भन्नुभयो गत वर्षको यो समयभन्दा अहिले चिसो निकै बढ्यो, उच्च क्षेत्रमा हिमपात पनि भएको छ । चीनसँगको सीमा नाका कोरला क्षेत्रमा पनि हल्का हिमपात भएको सइ भण्डारीको भनाइ छ ।

त्यस्तै बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, गलेश्वरमा हिलो सहितको लेदोले सडक अवरुद्ध हुँदा सवारी साधन आवतजातमा समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया