पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’

  कार्तिक ०१, २०७८

कास्की, कात्तिक १ : महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ ।

गोर्खा क्लासिक नेपालले महिला खेलाडीको खेल व्यावसायिकता, महिला सशक्तीकरण र समग्र खेल क्षेत्रको व्यावसायिकता विकास गर्ने लक्ष्यसहित शारीरिक सुगठन विधाअन्तर्गत रहेर प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिता ६० केजीमाथि र ६० केजीभन्दा तल गरी दुई विधामा सञ्चालन हुनेछ । दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीले जनही क्रमशः रु २५ हजार, १५ हजार, १० हजारसहित मेडल र ट्रफी पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यसैगरी महिला खेलाडीहरुको नेपालकै सर्वोत्कृष्ट प्रतियोगिता रहेकाले ६० केजीमाथि र सोभन्दा तल दुई विधा समूहको प्रथम-प्रथमबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट हुन सफल खेलाडीले टाइटल विजेता उपाधिका रूपमा रु ८० हजारसहित ‘गोर्खा क्लासिक बेल्ट’ र सम्मानपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट गरी ५० खेलाडीको सहभागिता रहने बताइएको छ । शारीरिक सुगठन विधाका खेलहरूको व्यावसायिक विकास गर्ने उद्देश्य रहेको बताउँदै उहाँले पर्यटकीय शहरमा सञ्चालन हुने यस प्रतियोगिताबाट पोखरालाई खेल पर्यटनमार्फत संसारभर चिनाउन र आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।

हरेक दुई-दुई वर्षमा प्रतियोगितालाई निरन्तरता दिइने योजना आयोजकले बनाएको छ । प्रतियोगिता सञ्चालनका लागि रु १३ लाख ५० हजार खर्च लाग्ने भएकाले पुरस्कार प्रायोजक, सहयोगी एवं शुभेच्छुक व्यवसायीहरुबाट सहयोग रकम सङ्कलन गरिने बताइएको छ । प्रतियोगिताको निर्णायकमा नेपाल बडी बिल्डिङ सङ्घ तथा क्षेत्रीय खेलकुद विकास समिति र भारत्तोलन सङ्घबाट प्राविधिक सहयोग उपलब्ध हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया