हुम्लामा स्याउको मूल्य प्रतिदाना २० रुपैयाँ

  कार्तिक ०१, २०७८

हुम्ला, कातिक १ : हुम्लामा स्याउको प्रतिदाना मूल्य २० रुपैयाँ पर्नेगरेको छ । किसानले स्याउ उत्पादन कम भएको भन्दै मुल्य बृद्धि गरेका हुन् ।

स्थानीय लोक भण्डारीले बजारमा आएका स्याउको मुल्य एक दानाको बीस रुपियाँ पर्नेगरेको बताउनुभयो । विगतका वर्षमा यो सिजनमा स्याउको मूल्य प्रतिदाना दश रुपियाँ पर्ने गथ्र्यो । गतवर्ष यसवर्ष भन्दा कम स्याउ फलेको भए पनि यसरी मूल्य बृद्धि नभएको स्थानीयको भनाई छ ।

बिगत चार वर्षयता सिजनमै स्याउको मुल्य प्रतिदाना दश रुपियाँमा बिक्री हुँदैआएको थियो । यसलाई उपभोक्ताहरुले स्वभाविक मान्दैआएका थिए । उहाँले मूल्य शतप्रतिशत बृद्धि भएको भए पनि आवश्यकता परेका कारण किन्नै पर्ने बाध्यता रहेको बताउनुभयो ।

यसरी बढी मूल्य पर्ने स्याउको दाना भने किसानबाट रोजेर लिन पाइने भण्डारीले बताउनुभयो । यद्यपि साना दानाको मूल्य भने पन्ध्र रुपियाँ छ । मूल्य अस्वाभाविक रुपमा बृद्धि भएको बताउँदै उहाँले किलोमा बिक्री गर्ने ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।

स्याउ किसान डोल्मा लामाले स्याउ उत्पादन कम भएको कारण मुल्य बृद्धि भएको बताउनुभयो । उहाँले प्रतिदाना बीस रुपियाँमा स्याउ बिक्री भइरहेको बताउँदै बजारमा माग बढी भएको तर उत्पादन कम भएकै कारण मुल्य बढेको जानकारी दिनुभयो । यसरी स्याउको मूल्य बजार तथा किसानका स्याउ फर्ममा जता किने पनि उस्तै मुल्य पर्नेगरेको उहाँको भनाइ छ ।

कम फलेका चारवटा बोटका स्याउ बिक्री गरिसकेको पनि उहाँले बताउनुभयो । किसानले जताततै स्याउ दानाको बीस रुपियाँमा बिक्री गर्ने गर्दैआएका छन् । मूल्य बृद्धिबिरुद्ध आवाज कतै उठाइएको पाँदैन । हुम्ला जिल्ला स्याउ खेतीका लागि राम्रो सम्भावना भएको जिल्ला हो । किसानहरुले व्यावसायिक स्याउखेती सुरु गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया