धान भित्र्याउनै लाग्दा परेको पानीले किसान पीडामा

  कार्तिक ०१, २०७८

भैरहवा, कात्तिक १ : किसानले धान काट्ने तयारी गर्दैगर्दा दुई दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पु¥याएको छ । रुपन्देहीका दक्षिणी क्षेत्रमा किसानले लगाएको धानबालीमा वर्षाले ठूलो नोक्सानी पु-याएको किसानको गुनासो छ ।

किसानहरु यतिबेला धानबाली भित्र्याउने तयारीमा छन् । कतिपय किसानको खेतमा धान पाकिसकेको छ भने केही किसानले काट्न सुरु गरिसकेका थिए । रुपन्देही मर्चवारका किसान रामअवतार यादवले आफ्नो पाँच बिघा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताउनुभयो । “धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, एक्कासि आएको वर्षाले वर्षभरिको मेहनत सखाप पा-यो” उहाँले भन्नुभयो ।

दशैं सकिएलगत्तै धेरैजसो किसानले धान काट्ने तयारी गर्दै थिए । केही किसानले भने धान काटिसकेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले नोक्सानी पु-याएको हो । बुटवल उपमहानगरपालिका १५ रानीगन्जका किसान जीतबहादुर रानाले आफ्नो एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पु-याएको बताउनुभयो । “यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षाले सबै सपना उडायो,” उहाँले भन्नुभयो ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका छन् । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले काटेको धान खेतमै डुबेको छ । रुपन्देही शुद्धोधनका जयकिसन चौधरीले धान काट्ने समयमा पानी पर्दा ठूलो नोक्सान भएको बताउनुभयो । पानी पर्नेक्रम अझै नरोकिएकाले क्षतिबारे अझै यकिन भन्न नसकिने उहाँको भनाइ छ ।

ओमसतिया गाउँपालिका ५ का किसान राजेन्द्र चौधरीले खेतमा लगाएको सबै धानबाली डुवानमा परेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका कर्मचारी समेत रहनुभएका चौधरीले अहिले अधिकांशका खेतमा गोरखनाथ, राधा–४, सर्जु–५२ लगायतका धान पाकेपछि काटिसकेको बताउनुभयो । समयमै पानी परेको र मल पनि समयमै पाएकाले विगतका वर्षको तुलनामा यो वर्ष धानखेती बढी हुने अनुमान गरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाइँ छिटो भएको थियो ।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये यो वर्ष ६५ हजारभन्दा बढी हेक्टरमा धान खेती गरिएको छ । रुपन्देही कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने काम भैरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया