ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु

  कार्तिक ०१, २०७८

बागलुङ, कात्तिक १ : नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस बर्षको शिकार पर्यटन सुरु भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यवसायिक शिकारी ढोरपाटन आउन थालेका हुन् ।

शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ब्लकमा खटाएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस बर्षको पहिलो शिकारयामका लागि दश नाउर र ६ वटा झारलको शिकार अनुमति दिएको छ ।

कात्तिक २ गतेदेखि मंसिरसम्म शिकार पर्यटन जारी रहने छ । विभागले हरेक बर्ष दुई याममा गरी बार्षिक २० नाउर र ११ झारलको शिकार गर्नेगर्छ । ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलकाअनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड टे«ल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् ।

पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्षेनी (असोज–मंसिर) पहिलो याम र (फागुन–बैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदैआएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गत बर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो ।

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय विताउँछन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

नाउर झारलको मुल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना शिकारीले करिव २० देखि २२ लाख रुपियाँ खर्च गर्ने शिकार पर्यटन व्यवसायी अमृत थापाले बताउनुभयो । शिकार पर्यटनलाई पनि कोरोनाले असर गरेको छ । नेपालमा कोरोनाको त्रासले गर्दा विगतमाजस्तो प्रतिस्पर्धा नभएको थापाले बताउनुभयो । जति धेरै शिकारीको आउने इच्छा हुन्छ राजश्व त्यति धेरै संकलन हुने हो उहाँले भन्नुभयो, “कोरोनाको असर शिकार पर्यटनमा पनि देखियो ।

तपाईको प्रतिक्रिया