हत्या आशंकित शाहीको होटलमै लडेर मृत्यु : प्रहरी

  असोज ३१, २०७८

जुम्ला, असोज ३१ : जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालक मध्यका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

यही २०७८ असोज २७ गते राति बसपार्क लाइनस्थित होटल भ्यालीभ्यू अगाडि राति भित्र च्यानल गेट चढेर जान खोज्दा लडेर मृत्यु भएको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार सिसिटिभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लडेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट मृत्यु भएको बताउनुभयो ।

दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातल वर्ष ४५ का शाही होटल संञ्चालक र पारिश्रमिक समेत लिने गर्नुहुन्थ्यो । २०७८ असोज २७ गते बेलुकी ९ः४८ मा होटल भित्र जान खोजिएको, गेट बन्द भएको तर गेट नखुलेपछि नाघेर माथि जान खोज्दा लढेर घाईते भएर मृत्यु भएको सिसिटिभिले देखाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफन्त आइसकेपछि सो सिसिटिभिको फुटेजहरु देखाएपछि आफन्तले पनि दुर्घटना रहेछ भन्ने स्विकारेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम गरी शव टीकाको दिनमा आफैँ घर लगेको समेत जानकारी दिनुभयो ।

शाही लडेर मृत्यु हुँदासम्म माथिल्लो तलामा सुतेका केही व्यक्तिले थाहा नपाएको र एक्कासि भोलि विहान होटल अगाडि शव देखिएको थियो ।
दशँैको नजिकै होटल अगाडि मृत अवस्थामा देखिएपछि हत्या आशंका गरिएको थियो । तर अनुसन्धानले दुर्घटना भएको देखाएको हो । घटना थाहा पाएपछि प्रहरीले सो क्षेत्र सुरक्षित गरेको थियो ।

सिसिटिभि राख्न अनुरोध –
प्रहरीले सिसिटिभीले अनुसन्धानमा सजिलो हुने भएको र पीडितले न्याय पाउने भएकाले अनिवार्य राख्न अपिल गरेको छ । प्रहरी नायव उपरीक्षक थापाले जुम्ला सदरमुकाम सहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो । यसले घटना कम हुने र घटना भइहाले पनि अनुसन्धानमा सजिलो हुने भएको बताउनुभयो ।

सरोकारवाला मौन
साविकको कर्णालीको मुटु जुम्ला सदरमुकामका विभिन्न चोक र स्थानमा सिसि क्यामरा आवश्यक रहेको छ । तर तीनै वटा सरकार र जनप्रतिनिधि यस विषयमा मौन छन् । चन्दननाथ नगरपालिकाले समेत सुरक्षासँग सम्वेदनशिल विषयको पूर्वाधारमा जोड दिन सकेको छैन ।

तपाईको प्रतिक्रिया