गुल्मीमा छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु, एकजना घाइते

  असोज २८, २०७८

तम्घास, असोज २८ : गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी बजारमा लु २६ प ६८३३ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मुसिकोट नगरपालिका २ का २८ बर्षीय मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मोटरसाइकलमा सवार २३ वर्षीय रबिन शाही ठकुरी सामान्य घाइते भएका छन् । दुर्घटनाको कारण नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसैबीच गुल्मीमै बिरामी आमालाई छोराले बोकेर घर लैजाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराति मुसिकोटकै वडागाउँ स्वास्थ्य चौकीबाट उपचार गरी घर तर्फ बोकेर लैजादै गर्दा मुसिकोट २ की ७० वर्षीया जयकला रायमाझीको मृत्यु भएको हो ।

गएराति वडागाउँ स्वास्थ्य चौकीबाट उपचार गरी ३२ वर्षीय छोरा शिबबहादुर रायमाझीले घरतर्फ बोकेर लैजाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । मृतक दुबै जनाको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईको प्रतिक्रिया