वैवाहिक खर्च सामाजिक काममा

  असोज २७, २०७८

बिजुवार (प्युठान), असोज २७ : वैवाहिक बन्धनमा बाँधिएका एक जोडीले स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । प्युठानको गौमुखी गाउँपालिका–५ ठुलाबेसीका पुष्प न्यौपाने र मदाने गाउँपालिका अग्लुङफेदी गुल्मीका सुजाता चन्दले मंगलबार भएको आफ्नो विवाहको अवसरमा सहयोग हस्तान्तरण गर्नुभएको हो ।

न्यौपाने दम्पतीले विहेको दिनमै पूजा स्वास्थ्य चौकीको लागि एक लाख १५ हजार रुपियाँ बराबरको एक थान इ.सि.जि. मेसिन गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई हस्तान्तरण गर्नुभयो । न्यौपाने दम्पतीले गौमुखी गाउँपालिका भित्रका दलित बालबालिकालाई शिक्षामा पहुँच वृद्धि गर्न एक लाख २५ हजारको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको छ । वैवाहिक कार्यक्रममा हुने खर्च कटौती गर्दै समाज सेवामा रकम खर्च गर्न पाउँदा खुशी लागेको नव दम्पतीको प्रतिक्रिया छ । न्यौपानेले आफ्नो बुबा र हजुरबुबाबाट प्रभावित भएर आफू पनि सामाजिक कार्यमा जोडिएको बताउनुभयो ।

साथै, न्यौपानेका हजुरबुबा लालुराम जैसीले पूजा सामुदायिक इकाईमा निर्माण गरेको प्रतीक्षालय संरक्षकत्वको लागि गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो । वैवाहिक समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसीले यस्ता सहयोगले सामाजिक कार्यमा लाग्न थप हौसला मिलेको बताउँदै नव विवाहित दम्पतीलाई शुभकामना दिनुभयो ।

तपाईको प्रतिक्रिया