कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख

  असोज २७, २०७८

कपिलवस्तु, असोज २६ : कपिलवस्तुको कृष्णनगरमा दश दिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले प्रकोपको रुपमा फैलिएको रोग नियन्त्रणमा आएको बताउनुभएको छ ।

असोज १७ गते आइतबार पहिलो पटक शिवराज अस्पतालमा विरामी देखिए पनि अर्को दिनदेखि रोग फैलिन सुरु गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार झाडापखाला प्रभावित क्षेत्रमा विरामीको संख्या न्यून रहेको जनाइएको छ । उहाँका अनुसार केही दिनभित्र पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

आज (मंगलबार) विहान अस्पतालका १४ जना बिरामी उपचाररत रहेको बताइएको छ । हाल सम्म प्रभावित हुनेको सख्या ७५८ पुगेको छ । जसमध्ये ७०३ जना उपचार पछि घर फर्किएका छन् । ४१ जना लाई कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विश्लेषण अनुसार विरामी हुने मध्ये धेरै जसो बालबालिका रहेका छन् । कार्यालयका अनुसार ११ वर्ष भन्दा कम उमेरका २११ बालबालिकाका विरामी भएका छन् । यसैगरी ११–२१ उमेर समुहका २१४ जना रहेका छन् । ५४ प्रतिशत महिला रोगबाट प्रभावित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार झाडापखालाका कारण ३ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षका पुरुषका घरमा, एक जना सात वर्षीय बालकको निजी क्लिनिकमा र पाँच वर्षीया बालिकाको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

यता, समुदायमा थप तीन जनाको झाडा पखालाको कारण मृत्यु भएको दाबी गरिएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नं. ८ कोटवाका एक महिला, कृष्णनगर नगरपालिका सुखरामपुरका २७ दिनको एक बालक र बहादुरगन्जको एक महिलाको गर्भ तुहिएको छ । मृत्यु भएको जानकारी आए पनि झाडापखाला वा अन्य कारणले हो भन्ने पुष्टि हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया