सदरमुकाम बेनीमा सञ्चालित पसलको अनुगमन

  असोज २६, २०७८

बेनी, असोज २६ : नेपालीको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित पसलहरुको अनुगमन गरिएको छ । बेनी बजार क्षेत्रमा सञ्चालित विभिन्न प्रकृतिका पसलको जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा स्थलगत अनुगमन र निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा किराना तथा खाद्यान्न, मासु पसल एवम् मेडिकल पसल (औषधि)को अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले जनाएको छ । अनुगमन टोलीले पसलहरुमा राखेका दैनिक उपभोग्य सामानमा गुणस्तरीयता भए नभएको, म्याद रहेको वा गुुज्रिएको, पसल दर्ता तथा नवीकरण गरे नगरेको, मूल्यसुची राखे, नराखेका जस्ता विषयमा चेकजाँच गरेको थियो ।

अनुगमनका क्रममा धेरै पसलहरुमा कमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसलहरु खुद्रामा दर्ता गरेर होलसेलमा कारोबार गर्ने गरेको पाइएको थियो । अन्तः शुल्कको इजाजत नलिई मदिराजन्य पदार्थ बिक्री वितरण गर्नुका साथै केही पसलमा म्याद गुज्रिएका सामानहरु भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताउनुभयो । अनुगमन टोलीले बेनी बजारको न्युरोड, क्याम्पसचोक, पिपलचोक र कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरेको थियो । नेपालीहरुको महान चाड दसैँ पर्वलाई लक्षित गरेर बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।

बेनी बजारको कालिपुल बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन भाडामा लिई सटरमा पसल सञ्चालन गरेका तीनवटा पसलमा मदिरा तथा सुर्तिजन्य (चुरोट, रक्सी र सुर्ति)को बिक्री वितरण गरेको पाइएको छ । सामान्यताः कम्तीमा पनि विद्यालयदेखि एक सय मिटरको दुरीमा यस्ता पसल राख्न पाइँदैन ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बजार अनुगमन नियमित हुने कार्य भएको बताउँदै प्रशासनको नेतृत्वमा सरोकारवाला निकायसहितको सहभागितामा अनुगमन गरिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा केही पसलहरुले आफ्नो सीमा क्षेत्रभन्दा बाहिर सडक तथा पेटीमा समेत ठूलो मात्रामा सामानहरु राखेर बिक्री वितरण गर्ने गरेको पाइएको भन्दै व्यापारीलाई सचेत गराइएको हुँदा आगामी दिनमा यस्तो कार्य गरेको पाइएमा प्रक्रियामा गएर नियमअनुसार आवश्यक कारवाही गरिने बताउनुभएको छ ।

अनुगमन निरन्तरताको प्रक्रिया भएकाले सरकारको ऐन, नियमअनुसार अहिले बजार अनुगमन गर्ने कार्य स्थानीय तहलाई दिइएको हुँदा स्थानीय तहले बजार अनुगमन समिति गठन गरेर नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने प्रजिअ रानाको भनाइ छ । यसले गर्दा उद्योगी व्यापारीहरु पनि सचेत हुने भएकाले उपभोक्ताले समेत गुणस्तरीय सामानहरु सुपथ मूल्यमा पाउनेछन् । जिल्ला प्रशासनको नेतृत्वमा भएको अनुगमनमा बेनी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र र पत्रकारको सहभागिता  थियो ।

तपाईको प्रतिक्रिया