गोकुलेश्वर टि–२० क्रिकेटको उपाधि कैलपाललाई

  असोज २५, २०७८

बैतडी, असोज २५ : बैतडी–दार्चुलाको सीमाक्षेत्र गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट प्रतियोगिता २०७८ को उपाधि कैलपाल क्रिकेट क्लब,बैतडीले हात पारेको छ ।

गोकुलेश्वर खेल मैदानमा आज भएको फाइनल खेलमा कैलपालले सुशितम क्रिकेट क्लब,पन्ज्युनयाँलाई सुपर ओभरमा हराएको हो । दुबै टोलीले समान १३३ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको कैलपालले १२ रन बनायो । जवाफमा पन्ज्युनयाँले तीन रन मात्रै बनाउन सक्यो । त्यसअघि टर हारेर पहिला ब्याटिङ गरेको पन्ज्युनयाँ निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । जसमा सुदिप कार्कीले नटआउट ५४ रनको पारी खेले । कैलपालका महेश चन्दले चार विकेट हात पारेका थिए ।

जवाफमा कैलपालले १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १३३ रन मात्रै बनाउन सक्यो । कैलपालका लागि प्रदीप चन्दले सर्वाधिक ४८ रन हिर्काएका थिए । पन्ज्युनयाँका गोपाल कार्कीले ३ विकेट झारे ।

उपाधिसँगै कैलापालले ६५ हजार ५५५ पुरस्कार हात पा¥यो भने पन्ज्युनयाँले २५ हजार ५५५ मा चित्त बुझायो । प्रतियोगितामा तेस्रो भएको टिम बित्थडले ११ हजार ५५५ पुरस्कार पायो । म्यान अफ द फाइनल कैलपालका महेश चन्द भए ।

यस्तै म्यान अफ द सिरिजको उपाधि पन्ज्युनयाँका अशोक कार्कीले हात पारे । बेस्ट बलर पनि पन्ज्युनयाँका किरन कार्की भए भने ‘बेस्ट ब्याट्सम्यान’ निराजन ट्रेडर्स गोकुलेश्वरका खेलाडी दिनेश विष्ट चुनिएका छन् ।

प्रतियोगिताका ‘इमर्जिङ प्लेअर’पन्ज्युनयाँका १४ वर्षीय खेलाडी सुदिप कार्की भए । विजेता र उपविजेता खेलाडीलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक अरुण बम, कुमारी बैंक, शाखा डिलाशैनीका प्रबन्धक नीरज खरेल र नागार्जुन क्रिकेट क्लबका अध्यक्ष करन विष्ट लगायतले पुरस्कार वितरण गर्नुभयो ।

नागार्जुन क्रिकेट क्लबको आयोजनामा यही असोज १६ गतेदेखि सुरु भएको प्रतियोगितामा बैतडी, दार्चुला र डडेल्धुराका गरी १६ टोली सहभागिता रहेको थियो । यसअघि पहिलो संस्करणको उपाधि पिपलकोट क्रिकेट क्लब दोगडाकेदारलाई ४८ रनले पाखा लगाउँदै निंग्लाशैनी क्रिकेट क्लब९एनसिसि० देहिमाडौंले हात पारेको थियो ।

तपाईको प्रतिक्रिया