कोहलपुरमा महिला क्रिकेट एकेडमी स्थापनाको निर्णयले खेलाडी उत्साहित

  असोज २५, २०७८

नेपालगञ्ज, असोज २४ : बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने युवा तथा खेलकुद मन्त्रीको निर्णयबाट बाँके लगायत यस क्षेत्रका क्रिकेट खेलाडीहरु उत्साहित भएका छन् ।

बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराजले युवा तथा खेलकुद मन्त्रीको सपथ ग्रहण गरेलगत्तै पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने घोषणा गर्नु भएकोमा खेलाडी उत्साहित भएका हुन् ।

नेपालको राष्टिय क्रिकेट टोलीका पुर्व कप्तान एलबी क्षेत्रीले मन्त्री गहतराजको सो निर्णयले महिला क्रिकेट लगायत पुरुष क्रिकेटको पनि उत्थान हुने जनाउँदै बाँकेमा एकेडेमी स्थापना हुनु गौरवको विषय भएको बताउनुभयो ।

नेपाली महिला क्रिकेटको उदगमस्थलको रुपमा रहेको बाँकेमा नै एकेडेमी स्थापना भएपछि थुप्रै महिला खेलाडी उत्पादन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस्तै, राष्टिय महिला क्रिकेट टोलीका पुर्व कप्तान नेरी थापाले पनि बाँकेमा महिला क्रिकेट एकेडेमी स्थापना गरिने निर्णयले समग्र महिला खेलाडीलाई उर्जा प्रदान गरेको बताउनुभयो ।

बाँकेमा क्रिकेटका थुप्रै महिला राष्ट्रिय खेलाडीहरु रहेको चर्चा गर्नुहुँदै एकेडेमी स्थापनाले फेरि एक पटक यो क्षेत्रले महिला क्रिकेटमा सफलता पाउने प्रशिक्षक जमिल अहमद अन्सारीले बताउनुभयो । बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनु भएपछि अब कोहलपुरमा अन्तर्राष्टिय क्रिकेट मैदान निर्माणदेखि नेपालगञ्जमा रहेका अरबौंका खेल संरचनाको रेखदेख र संरक्षण हुने विश्वास खेलाडीहरुको छ ।

तपाईको प्रतिक्रिया