महोत्तरीको मुख्य भन्सार आजदेखि विधिवतरूपमा सञ्चालन

  असोज २३, २०७८

जलेश्वर, असोज २३ : कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवतरूपमा पुनः सञ्चालन गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको भन्सार नाका भिट्ठामोड आज अपराह्न ४ः०० बजेपछि सञ्चालन गरिएको मुख्य भन्सार कार्यालयले जनाएको छ ।

दुवै देशको सहमतिपश्चात भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय चारचक्के गाडी भन्सार कटाएर नेपाल प्रवेश पाउन थालेका छन् भने नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी दुईपाङ्ग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन् ।

भारतीय चारपाङ्ग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टाअघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । दुई पाङग्रेका हकमा सो व्यवस्था छैन । भन्सार खुलेसँगै सयौँको सङ्ख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन् । साथै कार, जीपजस्ता चारचक्के सवारी साधन अहिले फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन् ।

लामो समयदेखि जिल्लाको मुख्य भन्सार नाका बन्द रहँदा महोत्तरीवासीलगायत सो नाका भएर भारत जाने धनुषा, सिन्धुलीसहितका व्यक्तिलाई निकै कठिनाइ भोग्नुपरेको थियो ।

तपाईको प्रतिक्रिया