बचत गर्न नजान्दा मुसहरहरु आर्थिक समस्यामा

  असोज १७, २०७८

विराटनगर, असोज १७ : बराह नगरपालिका ५ कालाबञ्जरस्थित मुसहर बस्तीका नागरिकहरुको आम्दानी भएपनि बचत गर्ने चेतना नहुँदा समस्यामा पर्नेगरेका छन् । दैनिक आम्दानी राम्रो भएपनि मुसहर बस्तीका प्रायः सबै परिवार गरीबी र विपन्नताको चपेटामा पर्ने गरेका छन् ।

कालाबञ्जर मुसहर बस्तीका ८० घरका सदस्यमध्ये कसैले हाँस कुखुरा, गाईबस्तु र खसीबाख्रा पालेका छैनन् । नजिकैको जंगलमा गएर दाउरा ल्याउने र बेचेर गुजारा गर्नु नै उनीहरुको पुख्र्यौली जीवन निर्वाहको आधार हो । तर, अहिले स्थानीय सामुदायिक वनले जथाभावी वन प्रवेशमा रोक लगाएपछि उनीहरुको जीवन कष्टकर बनेको छ ।

‘यस बस्तीका पुरुषहरुले वरिपरिका अरु बस्तिका युवालेभन्दा बढी कमाइ गर्छन्,’ स्थानीय सामुदायिक वनका अध्यक्ष भोजराज घलेले भन्नुभयो ‘कमाइ गरेअनुसार बचत नगर्ने र अनावश्यक खर्च गर्ने बानीले मुसहरबस्ती सँधै गरीबीमै पिल्सिरह्यो ।’

मुसहर बस्तीका अधिकांश पुरुषहरु अचेल प्राविधिक काम गर्नेगरेको उहाँले बताउनुभयो । कोही ट्याक्टर चलाउने पेशामा छन्, कोही मिस्त्री छन् । महिला पनि दैनिक ज्यालादारीको रुपमा खेतबारीमा काम गर्छन् । बालबालिका र वृद्ध उमेरकाबाहेक सबैले थोरबहुत आर्जन गरे पनि समयमा बचत गर्न नसक्दा समस्या भोग्नेगरेको घलेको भनाई छ ।

कमाइलाई सदुपयोग नगर्ने र बचत नगर्ने बानीले उनीहरु आर्थिक सामाजिकरुपमा पछाडि परेको स्थानीय अगुवाहरुको बुझाई छ । त्यसै टोलबाट प्रदेशसभा सदस्य (सांसद) मा निर्वाचित उमिता विश्वकर्माले चेतनाका अभावले मुसहर टोल आर्थिक पछौटेपनको शिकार भएको बताउनुभयो । ‘टोलमा दैनिक ५ सयदेखि एक हजारभन्दा बढी कमाउनेहरु धेरै हुनुहुन्छ, तर बचत गर्ने बानी नहुँदा समाज पछि प¥यो ।’

स्थानीय हरिशंकर सरदार (ऋषिदेव) पनि दैनिक ७ सयभन्दा धेरै कमाउनु हुन्छ । त्यस हिसाबले उहाँको कमाइ मासिक २० हजारभन्दा बढी हो । तर उहाँको बैंकमा खातासमेत छैन । दैनिक कमाउने, कमाएको पैसाबाट रक्सी किन्ने, बाँकी रहेको पैसाले बेलुकी र बिहानको छाक टार्ने त्यहाँको दैनिकीजस्तै रहेको स्थानीयको भनाई छ ।

बस्तीका पुरुषमात्र होइन अधिकांश महिला दिनहुँ रक्सी पिउने गरेको स्थानीयको बुझाई छ । घरका दम्पतिले कमाइको ठूलो हिस्सा रक्सीमा खर्चेपछि शिक्षा, स्वास्थ्यमा समस्या भएको देखिएको छ ।

मुसहर बस्तीका अधिकांश बालिकाहरुले १२–१३ वर्षको उमेरमै बिबाह गर्छन् । बाल बिबाह उनीहरुको संस्कार नै बनेको छ । स्थानीय सरकारले बालबिबाह रोक्न प्रभावकारी पहल गरेको नपाइएको स्थानीय भोजराज घलेले बताउनुभयो । बस्तीको नजिकैमा सामुदायिक विद्यालय छ तर मुसहर बस्तीबाट कसैले एसईई नदिएको उहाँले बताउनुभयो ।

कक्षा ९ सम्म पढेका एकजना अहिले ट्याक्टरको चालक बनेको घलेले जानकारी दिनुभयो । बालबालिकाहरु स्कुल जाने तर दुईचार वर्षमै छोड्ने गरेको सांसद विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘यहाँ बालबिबाहको ठूलो समस्या छ, बालबालिकाहरु सानैदेखि बस्तीका साहुहरुको गोठालो गर्छन्, भूमिहीनताको समस्या छ र सबैभन्दा ठूलोकुरा चेतनास्तरकै अभाव छ ।’

प्रदेशसभा सांसद तथा जनता समाजवादी पार्टीका नेता जयराम यादवले कमाएर जोगाउन नजान्दा मुसहरवस्ती सँधै गरीब रहनुपरेको बताउनुभयो । कमाएको निश्चित अंश नियमित बचत गर्न उनीहरुलाई सांसद यादवले सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य तथा प्रदेशसभा सामाजिक विकास समितिका सभापति सरिता थापाले शासन व्यवस्थामा परिवर्तन आएपनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका छोराछोरी राष्ट्रप्रमुख बनाउन हामीले सक्यौं तर जनताको जीवनस्तर सुधार गर्न सकेनौं ।”

तपाईको प्रतिक्रिया