नेपालभाषाको चलचित्र ‘घोषक’ सार्वजनिक

  असोज ११, २०७८

काठमाडौं, असोज ११ : बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालिन नेपालभाषा (नेवारी भाषा) को चलचित्र ‘घोषक’ बालाजुस्थित अष्टनारायण हलमा प्रिमियर भएसँगै सार्वजनिक भएको छ ।

असोज ९ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा यस चलचित्रको प्रिमियर भएको हो ।

चचित्र बुद्धधर्मको प्रचारमा विहार निर्माण गर्नेमध्ये अनकौं व्यक्तिमा एक व्यक्ति घोषक पनि रहेको र भारतको कौसम्बी नगरमा घोसिताराम विहार निर्माण गरेको ऐतिहासिक कथामा निर्माण भएको छ ।

प्रमुख शाक्यले बुद्धधर्मका नेपालभाषाका चलचित्रहरु नेपालभाषा बाहेक अन्य भाषामा पनि डबिङ्ग गरी प्रदर्शन गर्न सुझाव दिनुभयो । साथै, उहाँले बौद्ध धर्म भनेका नेवाः समुदायको मात्र नभई सबैको रहेको उल्लेख गर्नुभयो ।

यसैगरी, निर्माणाधीन मंकाः खलःको भवनमा चलचित्र प्रदर्शन गर्न सकिने हल निर्माण भइरहेको समेत उहाँले बताउनुभयो ।

चलचित्रका निर्देशक अमृतचन्द्र श्रेष्ठले सबै कलाकारलाई धन्यवाद दिँदै मृगौला राेग पीडित कलाकार पल्पसा डंगोलको सुस्वास्थको कामना गर्नुभयो ।

चलचित्रका लेखक धर्मरत्न शाक्य, पटकथा दर्शनवीर शाक्यले गर्नुभएको हो । प्रेमा शाक्य र रोशन बज्राचार्यले साे चलचित्रकाे निर्माण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया