खराब मौसमका कारण धवलागिरि हिमाल आरोही आधार शिविरमै रोकिए

  असोज १०, २०७८

गलेश्वर, असोज १० : खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमा नै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको २२ वर्षको समयावधिमा आरोहण गरेको जनाइएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस दुई दशकयता ११औँ पटक आरोहण गर्दा पनि धौलागिरिको शिखरमा पुग्न सक्नुभएको छैन ।

यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही गत भदौ २८ गते म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरबाट हेलिकप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रिनुभएको थियो । धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकप्टरबाट बेसक्याम्प पु¥याइएको थियो । सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहनुभएका कार्लोस धवलागिरिबाहेक तीब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

तपाईको प्रतिक्रिया