नेपालमा गुलाव चक्रवातको असर सोमबारदेखि, ठूलो वर्षाको सम्भावना न्यून

  असोज १०, २०७८

काठमाडौँ, असोज १० : हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा भोलि सोमबारदेखि पर्ने भएको छ । यस वर्षको मनसुन सकिन अब केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात आउन लागेको हो ।

गुलाबको प्रभावले नेपालमा त्यस्तो ठूलो असर गर्ने भने नदेखिएको जल तथा मौसमविज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिमा श्रेष्ठले गोरखापत्र अनलाइनलाई बताउनुभयो । उहाँका अनुसार भोलिदेखि मौसममा केही तलमाथि हुनेछ । “पानी पर्नेछ तर त्यस्तो नोक्सानी गर्नेखालको वर्षा भने देखिदैन,” मौसमविद् श्रेष्ठले भन्नुभयो । धेरैजसो चक्रवातजस्तो यसले ठूलो वर्षा गराउन नसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ भोलिदेखि नै पर्नेजस्तो देखिएको छ, यो दुई तीन–दिनमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ तर सतर्कता अपनाउन भने जरुरी छ ।” यो वर्षाको अन्तिमतिर भएकाले ठूलो पानी पर्न सक्ने भन्दै उहाँले दुई–तीन दिनसम्म सतर्कता अपनाउन अनुरोध गर्नुभयो । उहाँले नेपालको ठूला नदीमा बहाब बढेकाले सतर्कता अपनाउन भने जरुरी रहेको बताउनुभयो । हाल नेपालमा भारतको मध्यप्रदेश तथा उत्तरप्रदेश आसपास अवस्थित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविज्ञान विभागले जनाएको छ ।

यता, बाढी पूर्वानुमान महाशाखाका मौसमविद् मौसम भण्डारीका अनुसार चक्रवातको कारण नेपालमा अझै पानी पर्ने सम्भावना छ । “यो तीन–चार दिन नेपालमा रहनेछ ।” तर भोलिदेखि मौसममा आउन सक्ने परिवर्तनलाई ख्याल गरी सतर्कता अपनाउन भने अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ ठूलो पानी नपरे पनि यो समयमा क्षति हुनसक्छ ।” यसलाई ध्यान दिई सतर्कता अपनाउन आग्रह गरिएको उहाँको भनाइ छ ।

हाल नेपालमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया