सत्ता गठबन्धनको बैठक : सरकारलाई चाँडो पूर्णता दिने जिम्मा शीर्ष नेतालाई

  असोज १०, २०७८

काठमाडौं, असोज १० : सत्तारुढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेशको समस्या समाधान गर्ने सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो ।

गठबन्धनको बैठकमा उपस्थित हुनुभएको यादवले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउने गरी चाँडो समस्या समाधान खोज्नुस् भन्ने जिम्मेवारी बैठकले दिइएको बताउनुभयो । अबको एक–दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने र गठबन्धनलाई दीगो बनाएर लैजाने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, यसबारे निर्णय गर्ने अधिकारी शीर्ष नेताहरुलाई दिइएको छ,’ उहाँले भन्नुभयो । जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया