भेरी बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त

  असोज १०, २०७८

सुर्खेत, असोज १० : राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो ।

टनेल बोरिङ मेसिन (टीबीम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो । २०७६ साल वैशाख ३ गते सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । एक वर्षअघि नै पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिट्टै हुने विश्वास गरिएको थियो तर दोस्रो चरणको कामको गति सुस्त बन्दा स्थानीय तथा सरोकारवाला सबैलाई चिन्ता बढाएको छ ।

हेड वक्र्स, बाँधलगायत अन्य काम दोस्रो चरणमा गर्नुपर्नेछ । कहिले कोरोना, कहिले मजदुर अभावका कारण दोस्रो चरणको काम सोचेजस्तो हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । लगातार काम अवरुद्ध हुँदा २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।

भौतिक प्रगति ४८ प्रतिशत
दुई वर्षदेखि आयोजनाको दोस्रो चरणको काम चलिरहेको छ । दोस्रो चरणअन्तर्गत हेड वक्र्स र पावरहाउस निर्माण गरिने कार्यसूची आयोजनाको छ । जसमा आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगङ्गास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत् गृह, टर्बाइन, विद्युतीय उपकरण र सबस्टेसनलगायत काम छन् ।

दोस्रो चरणको काम गर्ने अवधि ४८ महिनाको हो । सम्झौताअनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात् आगामी २०८० भित्र यो काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ३८ प्रतिशत रहेको छ । बाँकी रहेको दुई वर्षमा लक्ष्यअनुसारको काम सम्पन्न गर्न निकै ठूलो चुनौती आयोजनालाई छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले पहिलो चरणको कामको तुलनामा दोस्रो चरणको काममा केही सुस्त भएको स्वीकार्नुभयो । यद्यपि, अहिले कामको गति बढिरहेकाले तोकिएको अवधिभित्र सक्ने लक्ष्य राखिएको उहाँको दाबी छ । दोस्रो चरणको काम थालिएपछि विशेषगरी कोरोनाले असर पु-याएकाले काममा असर परेको हो । उहाँका अनुसार बाँकी दुई वर्षभित्र करिब–करिब सबै काम सकिनेछ ।

कोरोनाले आयोजना प्रभावित
कोरोना महामारीका कारण दोस्रो चरणको सुरुवातमै आयोजनाको काम प्रभावित भएको हो । ‘‘सुरुवाती चरणमा महामारीले ठूलो असर ग-यो, मजदुर सङ्क्रमित भए । यसैकारण कामले गति लिन सकेन,’’ सुवेदीले भन्नुभयो, ‘‘तोकिएकै समयमा आयोजना सम्पन्न गर्न काम भने रोकेनौँ तर निर्माण सामग्री र सबै मजदुर काममा खटाउन नसक्दा प्रगति कम भयो ।’

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा पनि आयोजनाको काम रोकिएको थिएन तर निर्माण सामग्रीको आपूर्ति हुन नसक्दा आयोजनाले काम रोक्न बाध्य भएको हो । कुल छ अर्ब १६ करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

मुआब्जा विवाद
भेरी बबई आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगङ्गा, गुर्भाकोट र लेकबँसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्छ । जसमध्ये झन्डै २३ हेक्टर जग्गा ऐलानी छ । तर, आयोजनाले ऐलानी जग्गाको मुआब्जा दिएको छैन । २२.८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाबारेमा आवश्यक कार्यविधिसमेत बनेको छैन । ऐलानी जग्गाधनीलाई के–कति मुआब्जा रकम दिने भनेर निर्धारण नटुङ्गिएका कारण मुआब्जा वितरण गर्न नसकिएको सीडीई सुवेदीले बताउनुभयो ।

भेरी बबई आयोजनाबाट सुर्खेतको लेकबेँसी, गुर्भाकोट र भेरीगङ्गा नगरपालिका प्रभावित हुनेछ । लेकबेँसी नगरपालिका वडा नं. १ चिप्लेका आयोजना प्रभावित बासिन्दा टीकाराम रानाले आफूहरू आयोजनाविरोधी नभएको तर उचित मुआब्जा उपलब्ध गराउनुपर्ने बताउनुहुन्छ । उहाँले सतप्रतिशत मुआब्जा नदिइएपछि कम्तीमा ८० प्रतिशतसम्म उपलब्ध गराए आफूहरूलाई मान्य हुने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया