औसतभन्दा १३ प्रतिशत बढी पानी, मनसुन बाहिरिन सात दिन बाँकी

  असोज १०, २०७८

काठमाडौं, असोज ९ : मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाले जनाएको छ । मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्याङ्क छ ।

मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएकाले स्थानीयबायु सक्रिय हुदाँ घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । भारी वर्षा हुने सम्भावना टरेको छ तर अझै मध्यभागमै न्युनचापीय रेखा रहेकाले सामान्य वर्षको सम्भावना कायमै रहेको प्रधानाङगले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेसँगै मनसुनी प्रणाली वाहिरिन औसत समय अनुसार अझै सात दिन बाँकी रहेको महाशाखाले जनाएको छ । अन्य वर्षहरुमा सेक्टेम्वर २३ मा मनसुन वाहिरीने समय मान्दै आए पनि यस वर्ष देखि नौ दिन पछि धकेलेर अक्टोवर २ मा मात्र मनसुनी प्रणाली वाहिरिने औसत समय तोेकेको छ ।

जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ । विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ । राससका अनुसार यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो ।

यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।

यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव तीन डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ ।

तपाईको प्रतिक्रिया