दीर्घरोगीका लागि फाइजर खोप ल्याइने

  असोज १०, २०७८

काठमाडौँ, असोज ९ : एक लाख मात्रा फाइजर खोप दशैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दशैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमारलाल कर्णले खोप छिट्टै आउने जानकारी दिनुभयो । उहाँका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भन्नुभयो, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।” नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले एक लाख ६२० मात्रा खोप दशैँअघि नै आइपुग्ने बताउनुभयो । यसअघि कोभ्याक्स सुविधाले युनिसेफसंँगको सहकार्यमा फाइजर खोप भण्डारण गर्नका लागि चारवटा फ्रिज नेपालमा ल्याइएको छ । महाशाखा प्रमुख डा. कर्णले कोरोनाविरुद्धको खोप फाइजर सरकारले छिट्टै किन्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया